३१ अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको छ । आइतबार ३३८ कम्पनीको ९५ हजार ४४५ पटकको कारोबारमा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आज ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे छ । सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किटमा कारोबार भएको हो । त्यस्तै, सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर मूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स धेरै काराेबार भएकाे छ । सो फाइनान्सको ५३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँभन्दा बढी र श्रीनगर एग्रीटेकको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशतले बढेको छ । साथै विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशत, र होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
नेपाल लाइफको समृद्धि लगानी योजनाको इकाई बिक्री खुला
काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रहेको नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई बिक्रीमा आएको छ । यस योजना अन्तर्गत प्रति इकाई १० रूपैयाँको दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ । बीज पूँजीका लागि कम्तीमा २ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको कम्तीमा १५ प्रतिशत मध्ये नेपाल लाइफलाई १४ प्रतिशत (२ करोड २४ लाख इकाई) र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत (१६ लाख इकाई) सुरक्षित गरिएको छ । बाँकी रहेको न्यूनतम १३ करोड ६० लाख इकाई सर्वसाधारण तथा संघसंस्थाहरूका लागि निष्कासन तथा बिक्री खुला गरिएको छ । आवेदनका लागि न्यूनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले यस योजनाको इकाई खरीदका लागि माघ ४ गतेदेखि आवेदन दिन सक्नेछन् । निष्कासन छिटोमा माघ ८ गते बैंकिङ समयपछि बन्द हुनेछ । यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन अवधि माघ १८ गते बैंकिङ समयसम्म लम्बिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले बनाएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइनमार्फत सिआस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
गुहेश्वरी मर्चेन्ट बैंकिङको कामु सीईओमा अर्चना प्रधान नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक प्रधानलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । निर्णयअनुसार प्रधानले माघ ४ गतेदेखि लागू हुने गरी कामु सीईओको कार्यभार सम्हाल्नेछिन् । यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त रहेको पदमा प्रधानलाई कामु सीईओको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।