सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  कम्पनीका अनुसार सञ्चालक समितिको पुस ७ गते र पुस २२ गते सम्पन्न बैठकबाट निवेदन बमोजिम २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । नेपाल बीमा प्राधिकरणले जारी गरेको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ अनुसार सेयर बिक्री प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ ।  उक्त संस्थापक सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ । यदि संस्थापक सेयरधनीहरूबीच ३५ दिनभित्र खरिदबिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सानिमा रिलायन्सको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । 

प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न, पुन : सञ्चालक बने गजेन्द्र विष्ट

काठमाडौं । प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार (आज) सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।  आजै सम्पन्न सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई बैंकको सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि पनि बैंकको सञ्चालकका रूपमा कार्यरत थिए ।

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, ८.४६ प्रतिशत लाभांश पारित

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १३ औँ वार्षिक साधारण सभा पोखरा–८, सिटि स्क्वायर व्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले आ.व. २०८१/८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कुल ८.४६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित सम्पूर्ण प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरि बहादुर बुढाथोकीले गरे । पूर्व सञ्चालक विश्व मोहन अधिकारी र मनोविज्ञान श्रेष्ठले बैंकको उपलब्धि र आगामी वर्षका लागि प्रतिफल वृद्धि सम्बन्धी सुझाव दिएका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय पहुँचबाट बञ्चित समुदायलाई सेवा पुर्‍याउने, डिजिटल उपकरण बढाउने, दिगो लगानी प्रवद्र्धन गर्ने र हरित बैंकिङ तथा सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । सञ्चालक कृष्ण शंकर श्रेष्ठले सभामा उपस्थित सम्पूर्ण अतिथि र सेयरधनीलाई धन्यवाद ज्ञापन गरे ।