नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले लिए शपथ

काठमाडौं ।  नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा  बुधबार आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको गत पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो । व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् । समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी तथा नबिल बैंकबाट बैंकका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भिष्म नेउपाने लगायतको उपस्थिति थियो ।   

लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरूको प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट जवाफ दिएका थिए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडको हाल ८९ शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ । बैंकले 'निरन्तर सहयात्रा' नारासहित उच्चस्तरीय, आधुनिक र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कुमारी बैंकको २५औं वार्षिक सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडले बुधबार काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ । बैंकले विगत २४ वर्षदेखि देशभर ३०२ शाखा, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको बताएको छ । बैंकले आगामी दिनमा पनि अझ सरल, सुलभ र प्रभावकारी सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।