कालिका पावरको आम्दानी ९ करोड नाघ्यो, होल्डिङ कम्पनीका रूपमा विकास गरिँदै
चितवन । कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा सेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा १५ दशमलव ९५ प्रतिशतले सेयर आम्दानी वृद्धि भएको हो । कम्पनीको १८औँ वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष सुरेन्द्र पाण्डेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा जम्मा प्रतिसेयर आम्दानी नौ दशमलव शुन्य नौ रहेकामा २०१/८२ मा १० दशमलव ५४ पुगेको छ । कालिका पावर कम्पनीले गरेको आम्दानी हाइड्रो पावरमा सबैभन्दा राम्रो दाबी गरिएको छ । कम्पनीले गत वर्षभन्दा यस अर्थिक वर्षमा रु एक करोड ३५ लाख १३ हजार ७७० कूल आम्दानी बढाएको छ । अघिल्लो आर्थिक वर्षमा रु आठ करोड ४९ लाख आठ हजार ५८९ आम्दानी गरेकामा पछिल्लो आर्थिक वर्षमा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपैयाँ आम्दानी भएको छ । गोरखाको अजिरकोट र वारपाक सुलिकोट (साविकको सिम्जुङ, मुच्चोक र सौरपानी गाविस)को सिमानामा पर्ने दरौँदी नदीबाट छ मेगावाटको विद्यत् उत्पादन गरिसकेको कालिका पावर कम्पनीले सात प्रतिशत बोनस सेयर वितरण गरेको छ । कम्पनीले विद्यत् बिक्रीबाट मात्रै छ करोड ९३ लाख ६२ हजार ६५१ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीमा कायम रहेको चुक्ता पुँजी ९३ करोड ३९ लाख ४९ हजार ५०० रुपैयाँको सञ्चित मुनाफाबाट सञ्चालक समितिको निर्णयबमोजिम सात प्रतिशतले हुन आउने रकम छ करोड ५३ लाख ७६ हजार ४६५ रुपैयाँ बराबरको सेयर वितरण गर्ने प्रस्ताव पारित भएको प्रतिवेदनमा उल्लेख छ । गतवर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको शून्य दशमलव तीन हजार ६८४ प्रतिशतले हुन आउने रकम रू ३४ लाख ४० हजार ८६६ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । कम्पनीलाई ‘होल्डिङ कम्पनी’को रूपमा विकास गरिँदै कालिका पावर कम्पनी लिमिटेडले अन्य कम्पनीमा पनि लगानी गर्न कम्पनीको नाम परिवर्तन गरेर ‘होल्डिङ कम्पनी’ बनाउने तयारी गरेको छ । सोमबार नारायणघाटमा सम्पन्न १८औँ वार्षिक साधारणसभाको क्रममा कम्पनीले होल्डिङ कम्पनीको रूपमा विकास गर्न सोहीअनुसारको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न लागेको जनाएको छ । कम्पनीको साधाणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सहमहामन्त्री रीना गुरूङले स्वदेशमै रोजगार दिलाउन र देशमै खेर गइरहेको पानीको सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने कार्यमा कालिका पावर कम्पनी लागेको हुँदा समग्र देश र जनतालाई नै फाइदा पुग्ने खालको कामप्रति सबैले खुसी मान्नुपर्ने बताए । साधारणसभामा कम्पनी सचिव किशोरकुमार डङ्गोलले सभाको वैधानिकताबारे जानकारीसहित स्वागत मन्तव्य दिएका थिए ।
निगालो होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं। निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिकाराज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी ले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेल को समेत उपस्थिति रहेको थियो । नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्किने यस चारतारे होटलले जारी पुँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवामार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । होटल परिसरबाट हिमाल, काठमाडौं, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यु टावर रहेकोले यसले विशिष्ट पहिचान बनाउने विश्वास व्यक्त गरिएको छ । परियोजनामार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सञ्चालनको अन्तिम चरणमा रहेको यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइटसहित), तीनवटा बैंक्वेट हल, तीनवटा रेस्टुरेन्ट, बार, पौडी पोखरी, स्पा, जिम, ध्यान कक्ष, कफी शप, सङ्गीत क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधा रहनेछन् । साथै, भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि दीर्घकालीन रणनीतिमा समावेश गरिएको छ । आईपीओ निष्कासनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको कम्पनीका अध्यक्ष बरालले जानकारी दिए । कम्पनीका संस्थापक तथा प्रवर्द्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ । होटल सञ्चालनतर्फ २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ । करिब १ अर्ब रुपैयाँ लगानी रहेको यो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने कम्पनीको भनाइ छ । साथै, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ ।
सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे’ कार्ड नेटवर्कका लागि सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे’ कार्ड नेटवर्क तथा राष्ट्रिय कार्ड स्विच (एनपीएस–नेशनल कार्ड स्विच) अन्तर्गत प्रमुख सदस्यताका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एनपीएस–नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड कारोबारको रुटिङ तथा सेटलमेन्ट सुनिश्चित गर्ने केन्द्रीय भुक्तानी पूर्वाधारका रूपमा स्थापना गरिनेछ। यसले घरेलु कार्ड कारोबारलाई अन्तरसञ्चालनयोग्य बनाउने लक्ष्य लिएको छ । सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएम सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।