काठमाडौं । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनको एक वर्ष बितिसक्दा पनि बीमितले दाबीबापत् पाउनुपर्ने भुक्तानी भने पाउन सकेका छैनन् ।
बीमा कम्पनीहरूमा जेनजी आन्दोलनको क्षतिबापतको २३ अर्ब १९ करोड रुपैयाँ बढीको दाबी परेको थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनबाट क्षति पुगेका ३ हजार ३ सय ९० बीमितले क्षतिपूर्तिबापत् २३ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी परेको थियो ।
गत असार २२ गतेसम्ममा बीमा कम्पनीहरूले दाबीबापतको ८ अर्ब ८२ करोड रुपैयाँ मात्र दाबी भुक्तानी गरेका छन् । जुन कुल दाबी रकमको ३८ प्रतिशतमात्रै हो ।
आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानका थुप्रै संरचनामा ठूलो क्षति पुगेको थियो । सिंहदरबार, अदालतदेखि निजी व्यवसायीका संरचनासम्ममा क्षति पुगेको थियो ।
भाटभटेनी सुपरमार्केटदेखि ठूला तारे होटल हिल्टन काठमाडौं, हायात रिजेन्सीलगायत ३० भन्दा बढी होटलहरूमा क्षति पुगेको थियो । जसबाट बीमा कम्पनीहरूमा ठूलो दाबी परेको थियो । भाटभटेनीका २७ वटा स्टोहरूमध्ये २० वटामा धेरै क्षति पुगेको थियो ।
भाटभटेनीबाट मात्रै बीमा कम्पनीमा ८ अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो । त्यस्तै, हिल्टन होटलमा साढे ८ अर्ब रुपैयाँ बराबरको क्षति भएकोमा ५ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको थियो ।
त्यसबाहेक स्थानीय पालिकाहरू, सरकारी तथा निजी सवारी साधनहरूमा पनि क्षति पुगेको थियो । यसले गर्दा बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी परेको थियो ।