जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तको मर्जर प्रस्ताव पारित
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले अध्यक्ष बिक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको हो । गत चैत २८ गते मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको थियो । यो सम्झौता लघुवित्त क्षेत्रमा भएको हालसम्मकै ठूलो सम्झौता हो । सोही सम्झौतालाई अनुमोदनका लागि जीवन विकासले विशेष साधारणसभा आह्वान गरेको थियो । विशेष साधारणसभाले संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मै रहने प्रस्ताव पनि पारित गरेको छ । मर्जरपछि युनिक नेपाल र मानुषी लघुवित्तको हालको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिनेछ । मर्जरपछि संस्थाको नेतृत्व जीवन विकास लघुवित्तका वर्तमान प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । साधारणसभाले मर्जरका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र हालसम्मका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरेको छ । साधारणसभाले भविष्यमा अन्य लघुवित्तहरूसँग पनि मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सक्ने गरी समितिलाई अधिकार प्रदान गरेको छ । हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । मर्जर पश्चात् संस्थाको कुल चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ । एकीकृत कारोबारपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा गरी संस्थाको शाखा संख्या २३३ पुग्ने साधारणसभामा जानकारी दिइयो । जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । युनिक नेपालले १० जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । मर्जरको सम्पूर्ण प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी छ । बुधबारको साधारणसभामा संस्थाका सञ्चालक श्यामचन्द्र खतिवडा, प्रकाश कुमार श्रेष्ठ, इन्द्र नारायण देव वैश्य, गोकर्ण खतिवडा, अशोक सिटौला,डाक्टर वन्दना कुमारी जैन प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललगायत संस्थाका सेयरसदस्यहरु उपस्थित रहेका थिए ।
नेरुडे मिर्मिरे लघुवित्तले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको २५ प्रतिशत बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गर्दै त्यसलाई पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको हो । लघुवित्तले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँको २५ प्रतिशत अर्थात् १:०.२५ अनुपातमा ३४ करोड ९४ लाख ४१ हजार रुपैयाँ बराबरको ३४ लाख ९४ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहनेछ । हकप्रद सेयर निष्कासन भने नियामक निकायको स्वीकृतिपछि मात्र हुने लघुवित्तले जनाएको छ । हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ । उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउनुका साथै संस्थापक समूहतर्फ रिक्त रहेको एक सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ ।
सेयर बजारमा ४ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४५ अंकले घटेर २६६० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सोपन फर्माको १७ करोड, युनाइटेड मोदीको ११ करोड ८२ लाख, सप्तकोशी डेभलपमेन्टको ११ करोड ४ लाख र साहस ऊर्जाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा खोला र यम्बलिङ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । भुजुङ हाइड्रोको सेयर मूल्य १४.६९ प्रतिशतले बढेको छ ।