ओएन बायोटेकले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । ओएन बायोटेकले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० दरका ३० लाख कित्ता साधारण सेयर सार्वजनिक गर्न लागेको हो । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार सम्झौतापत्रमा ओएन बायोटेकका तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष चुन्नप्रसाद शर्माले र ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले हस्ताक्षर गरे । विसं २०७६ साल पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा–१६ मा रहेको छ । कम्पनीका उद्योग क्षेत्रहरू तिलोत्तमा–१६, १७ तथा शुद्धोधन–१ मा सञ्चालनमा छन् । कम्पनीले कृषि उत्पादनपछि खेर जाने सहायक सामग्रीहरू- पराल, भुस, उखुको बगास, तोरीको पिना तथा भुसजस्ता कच्चा पदार्थ प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ । साथै गहुँ, जुनेलो र कोदो प्रयोग गरी विभिन्न प्रकारका च्याउका बीउ–बीजन उत्पादन तथा आपूर्ति पनि गरिरहेको छ । ताजा च्याउको बजारीकरणसँगै कम्पनीले अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको ड्राई मसरुम उत्पादन गरिरहेको छ भने भविष्यमा क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्यसमेत लिएको छ । यसका अतिरिक्त, मौसमी तरकारी उत्पादन तथा बजारीकरण, किसानका लागि कम्पोष्ट मल उपलब्ध गराउने कार्य पनि कम्पनीले गर्दै आएको छ ।
सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसहित अपरेशनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरू सहभागी रहेको कार्यक्रम यही माघ ३ र ५ गते आयोजना गरिएको थियो । उक्त नियमित प्रशिक्षण कम्पनीको प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख सञ्जीव सिंहले प्रदान गरेका थिए । प्रमुख सञ्चालन अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारी रूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधनस्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरूको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो । कर्मचारीहरूको क्षमता र सीप अभिवृद्धि गर्दै बिमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउन यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको आवश्यकता पहिचान गरी उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ । साथै उपस्थित विभागीय प्रमुखहरूले कम्पनीमा अभिकर्ता र ग्राहकहरूलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न अपनाउनु पर्ने प्रक्रिया र तरिकाहरुको बारेमा केन्द्रित थियो । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।
समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न, पोखरा फाइनान्ससँगको मर्जर पारित
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो, हेटौडामा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्य तथा प्रगतिबारे जानकारी गराएका थिए । साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृतिका लागि पेश गरिएकोमा सभाले सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रिया सर्वसम्मत रूपमा अनुमोदन गर्दै बाँकी प्रक्रिया सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि आरएसएमए एसोसियट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि सर्वसम्मत रूपमा भएको छ ।