काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले बीमकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा शुक्रबार आयोजित कार्यक्रममा बीमकहरूले बुझाउने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कलाई एकरूप, गुणस्तरीय र विश्वसनीय बनाउने विषयमा छलफल भएको थियो । साथै, आइआरएमआइएसमा गरिएको डाटा रिपोर्टिङसम्बन्धी परिवर्तन र त्यसक्रममा देखिएका समस्याको समाधानका उपायबारे पनि विमर्श गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको शुद्धता, एकरूपता र विश्वसनीयता सुनिश्चित गर्नुपर्ने बताए ।
उपनिर्देशक पुष्पा कुँवरले तथ्याङ्क प्रणालीमा देखिएका समस्या समाधानका लागि प्राधिकरण सहकार्य र आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी दिए ।
कार्यक्रममा सहायक निर्देशक सुन्दर प्रसाद शर्माले बीमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका क्रममा देखिएका समस्या, चुनौती र अवसरबारे प्रस्तुति दिएका थिए । उनले अनुसन्धानका लागि आवश्यक तथ्याङ्क समयमै उपलब्ध हुनुपर्ने, तथ्याङ्कमा एकरूपता कायम गरिनुपर्ने, बीमकहरूले अनुसन्धानसम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने, अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने तथा त्यसका लागि आवश्यक स्रोत–साधन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।
त्यस्तै, प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले बीमकहरूबाट सङ्कलन गरिने तथ्याङ्कका आधार, सङ्कलन प्रणालीमा गरिएको सुधार तथा बीमकहरूले पेश गर्ने तथ्याङ्कप्रति प्राधिकरणको अपेक्षाबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका तथ्याङ्क, अनुसन्धान र सूचना प्रविधि शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणकी सहायक प्रथम कमला घर्तीले गरेकी थिइन् ।