नेशनल लाइफ इन्स्योरेन्सको १ दिने अभिकर्ता तालिम धुलिखेलमा सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत बागमती र मधेश प्रदेशका चयनित अभिकर्ताहरूलाई लक्षित गरी आयोजित १ दिने अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) स्मृतिराज कँडेलको सभापतित्वमा सम्पन्न सो तालिममा धुलिखेलस्थित होटल सारथीमा २८० जना अभिकर्ताहरू सहभागी भएका थिए । प्रशिक्षक काजिम रजाले तालिममार्फत एमडिआरटीको लक्ष्य हासिल गर्ने रणनीति र व्यवहारिक उपायहरू प्रस्तुत गर्दै सहभागीहरूलाई व्यावसायिक दक्षता वृद्धि गर्ने विषयमा मार्गदर्शन गरेका थिए । डीसीईओ कँडेलले अभिकर्ता पेशालाई अझ व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले अभिकर्ता मैत्री मासिक र वार्षिक योजना जारी गर्दै आएको र ‘प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता’ नाराका साथ तालिम कार्यक्रम सञ्चालन गरिएको बताएका थिए । कम्पनीका अनुसार देशभरबाट ७०० भन्दा बढी अभिकर्ताहरू चयन हुनु यस योजनाको ठूलो सफलता भएको प्रमाण हो । कार्यक्रममा शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरियो । एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले पनि तालिममार्फत अभिकर्ताहरूले प्रतिस्पर्धात्मक बजारमा आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्न सक्ने बताए ।
घाटामा रहेका फाइनान्स धमाधम नाफामा, खराब कर्जा ५५ प्रतिशतसम्म
काठमाडौं । नोक्सानीको दलदलमा फसेका फाइनान्स कम्पनी चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा नाफातर्फ फर्किएका छन् । चालु आवको ६ महिनाको अवधिमा फाइनान्स कम्पनीहरूले समग्रमा ३२ करोड १५ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकि गत वर्ष यही अवधिमा ६६ करोड २२ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा थिया । यसले फाइनान्स क्षेत्र घाटाबाट नाफातर्फ फर्किएको संकेत गर्छ । तर यही नाफाको उत्साहसँगै फाइनान्सको बढ्दो खराब कर्जाले भने चिन्ताको विषय बनाएको छ । समीक्षा अवधिमा सेन्ट्रल फाइनान्सको नाफा सबैभन्दा बढी वृद्धि भएको छ । सेन्ट्रल फाइनान्सको नाफा ९६५ प्रतिशतले बढेर ३ करोड ९१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यस्तै, गुडविल फाइनान्सको नाफा पनि ९६५ प्रतिशतले वृद्धि भई ११ करोड १७ लाख ८ हजार रुपैयाँ पुगेको छ भने मञ्जुश्री फाइनान्सले १५.६२ प्रतिशत वृद्धि गर्दै १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । केही फाइनान्स कम्पनीको नाफा भने घटेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा १४.१० प्रतिशतले घटेर १ करोड २१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । मल्टीपर्पस फाइनान्सको नाफा ३६.७६ प्रतिशत घटेर ७८ लाख ३४ हजार रुपैयाँ र आईसीएफसी फाइनान्सको नाफा ७०.६५ प्रतिशत घटेर ३ करोड २० लाख ३० हजार रुपैयाँमा झरेको छ । चालु आवको ६ महिनामा गोर्खाज फाइनान्सले ६ करोड १६ लाख ५७ हजार रुपैयाँ, पोखरा फाइनान्सले २ करोड ३३ लाख १५ हजार रुपैयाँ, बेस्ट फाइनान्सले १ करोड ७४ लाख ८५ हजार रुपैयाँ, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सले १ करोड ६८ लाख ४८ हजार रुपैयाँ, रिलायन्स फाइनान्सले १७ लाख २३ हजार रुपैयाँ र समृद्धि फाइनान्सले ११ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर, समीक्षा अवधिमा केही फाइनान्स कम्पनी भने अझै नोक्सानीमै छन् । नेपाल फाइनान्सले ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सले २ करोड ९२ लाख ५१ हजार रुपैयाँ र जानकी फाइनान्सले २ करोड २३ लाख ८३ हजार रुपैयाँ नोक्सानी व्यहोरेका छन् । खराब कर्जा ५५ प्रतिशतसम्म चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा (एनपीएल) औसत १.३७ प्रतिशतले बढेर १३.८६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा फाइनान्स कम्पनीहरूको औसत एनपीएल १२.४८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा सबैभन्दा उच्च खराब कर्जा जानकी फाइनान्सको देखिएको छ । चालु आवको पुस मसान्तसम्म जानकी फाइनान्सको एनपीएल ५५.२६ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ४०.८८ प्रतिशत थियो । एक वर्षको अवधिमा कम्पनीको खराब कर्जा १४.३८ प्रतिशत बिन्दुले बढेको हो । यस अवधिमा बेस्ट फाइनान्सको खराब कर्जा १०.०१ प्रतिशतले बढेर १३.८७ प्रतिशत पुगेको छ । नेपाल फाइनान्सको एनपीएल ६.२७ प्रतिशतले बढेर १६.७३ प्रतिशत पुगेको छ भने गोर्खाज फाइनान्सको ३.०४ प्रतिशतले वृद्धि भई १७.४६ प्रतिशत पुगेको छ । यस्तै, मल्टीपर्पस फाइनान्सको खराब कर्जा २.८५ प्रतिशतले बढेर ८.३० प्रतिशत, सेन्ट्रल फाइनान्सको २.२४ प्रतिशतले बढेर १४.१८ प्रतिशत, आईसीएफसी फाइनान्सको ०.४४ प्रतिशतले बढेर ३.५१ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ०.१२ प्रतिशतले बढेर ३.८३ प्रतिशत पुगेको छ । तर, समीक्षा अवधिमा ७ वटा फाइनान्स कम्पनीले भने आफ्नो खराब कर्जा घटाउन सफल भएका छन् । समृद्धि फाइनान्सको एनपीएल ११.१७ प्रतिशतले घटेर ८.१७ प्रतिशतमा झरेको छ । रिलायन्स फाइनान्सको खराब कर्जा ५.२२ प्रतिशतले घटेर ९.०९ प्रतिशत छ । त्यसैगरी, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको एनपीएल १.२४ प्रतिशतले घटेर ६.९४ प्रतिशत, पोखरा फाइनान्सको ०.६७ प्रतिशतले घटेर ३२.७७ प्रतिशत, मञ्जुश्री फाइनान्सको ०.२२ प्रतिशतले घटेर ३.६४ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ०.१८ प्रतिशतले घटेर ७.३९ प्रतिशत र गुडविल फाइनान्सको ०.०७ प्रतिशतले घटेर ६.७ प्रतिशतमा झरेको छ ।
होटलमा करोडौं तलब, लाखौं भत्ता
काठमाडौं । नेपालका सुविधा सम्पन्न होटलहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकका लागि आकर्षक तलब-सुबिधा उपलब्ध गराउँदै आएका छन् । सार्वजनिक तथ्यांकअनुसार पब्लिक कम्पनीका रूपमा सूचीकृत ७ वटा होटलमा कार्यरत सीईओ तथा शीर्ष व्यवस्थापनले वार्षिक करोडभन्दा बढी पारिश्रमिक लिने गरेका छन् । होटल व्यवसाय पुँजी, सेवा गुणस्तर र अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले अनुभवी, योग्य र विज्ञ सीईओ अपरिहार्य मानिन्छन् । यही कारण कम्पनीहरूले व्यवस्थापन तहमा उत्कृष्ट जनशक्ति आकर्षित गर्न उच्च तलब, भत्ता र सुविधा दिनु स्वाभाविक भएको सरोकारवालाहरू बताउँछन् । विशेषगरी अन्तर्राष्ट्रिय ब्रान्ड, पाँचतारे सेवा र विदेशी पर्यटक लक्षित होटलमा रणनीतिक निर्णय, लागत व्यवस्थापन र ब्रान्ड छविको भूमिका सीईओकै काँधमा रहने गर्छ । सोल्टी होटल लिमिटेड सोल्टि होटलले आव २०८१/८२ मा कम्पनीका कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महाप्रबन्धक र प्रबन्धकहरूलाई पारिश्रमिक, भत्ता र अन्य सुविधाहरू वापत १५ करोड १८ लाख ९१ हजार ६९८ रुपैयाँ प्रदान गरेको कम्पनीले जनाएको छ । आव २०८०/८१ मा कम्पनीका कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महाप्रबन्धक र प्रबन्धकहरूलाई पारिश्रमिक, भत्ता र अन्य सुविधाहरू वापत १६ करोड २० लाख १८ हजार ७३८ रुपैयाँ प्रदान गरेको थियो । साथै गत वर्ष कम्पनीले सञ्चालक समितिको बैठक भत्ता बापत १६ लाख ४७ हजार ७२ रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आव २०८०/८१ मा कम्पनीले सञ्चालक समिति बैठक भत्ता बापत १७ लाख ९४ हजार १३२ रुपैयाँ भुक्तानी गरेको थियो । कम्पनीले सञ्चालक समितिको प्रतिबैठक भत्ता बापत २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । कम्पनीले कार्यकारी अध्यक्ष, उपाध्यक्ष र महाप्रबन्धकहरूलाई अन्य सुविधाहरूको रूपमा ड्राइभर, सवारीसाधनको इन्धन तथा मर्मतसम्भारसहित कार्यालय सवारीसाधन (कार) पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । कम्पनीको कार्यकारी अध्यक्ष पदमा दिनेश बहादुर विष्ट कार्यरत छन् । तारागाउँ रिजेन्सी होटल्स गत आर्थिक वर्ष २०८१/८२ मा तारागाउँ रिजेन्सी होटल्सले प्रबन्ध सञ्चालकलाई कुल १ करोड ७१ लाख ९६ हजार १२५ रुपैयाँ र कार्यकारी सञ्चालकलाई १ करोड १६ लाख ४ हजार रुपैयाँ पारिश्रमिक बापत भुक्तानी गरेको छ । साथै गाडी तथा इन्धन सुविधा पनि प्रदान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस कम्पनीले प्रबन्ध सञ्चालकलाई कुल १ करोड २० लाख ८७ हजार २४ रुपैयाँ र कार्यकारी सञ्चालकलाई ८१ लाख ७ हजार १५० रुपैयाँ पारिश्रमिकवापत भुक्तानी गरेको थियो । होटलको सञ्चालक समिति बैठक बस्दा प्रतिबैठक अध्यक्ष र सदस्यहरूलाई समान रूपमा २३ हजार ५२९ रुपैयाँ बैठक भत्ता प्रदान गरिएको छ । अघिल्लो आव २०८०/८१ मा सञ्चालक समिति बैठक बस्दा प्रतिबैठक अध्यक्ष र सदस्यहरूलाई समान रूपमा ११ हजार ७६४ रुपैयाँ बैठक भत्ता प्रदान गरिएको थियो । कम्पनीको प्रबन्ध सञ्चालक अरुणकुमार सराफ छन् भने कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठ छन् । ओरिएण्टल होटल्स लिमिटेड ओरिएण्टल होटल्सले गत आर्थिक वर्ष २०८१/८२ मा प्रबन्ध सञ्चालकलाई १ करोड ४० लाख ७५ हजार ४०९ रुपैयाँ भुक्तानी गरेको छ । साथै, कम्पनीले सहप्रबन्ध सञ्चालक ७७ लाख २९ हजार ५०८ रुपैयाँ, महाप्रबन्धकलाई १ करोड १२ लाख ९५ हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । यसअघि आव २०८०/८१ मा प्रबन्ध सञ्चालकलाई १ करोड ३६ लाख ५० हजार रुपैयाँ, सहप्रबन्ध सञ्चालकलाई ७३ लाख ६१ हजार ९०६ रुपैयाँ र महाप्रबन्धकलाई १ करोड १० लाख ४२ हजार २१६ रुपैयाँ पारिश्रमिक प्रदान गरेको थियो । यसको अलावा निजहरूसँग भएको सम्झौता बमोजिम बस्ने गरेको घरको बिजुली, खानेपानी, मर्मत सम्भार तथा टेलिफोन खर्च पनि कम्पनीले नै बेहोर्ने गरेको छ । साथै कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालक समितिको बैठक भत्ता बापत अध्यक्षलाई प्रतिबैठक १० हजार रुपैयाँ र सञ्चालकहरूलाई ९ हजार रुपैयाँ प्रदान गरेको छ । चन्द्रागिरि हिल्स चन्द्रागिरि हिल्सले गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालक सदस्यहरूलाई सञ्चालक समितिको बैठक भत्ताका रूपमा ५ लाख ६० हजार भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीका सीईओ अरुण प्रधानलाई पारिश्रमिक, भत्ता, तथा सुविधा मार्फत ७६ लाख ५७ हजार ४५३ रुपैयाँ (कर सहित) प्रदान गरिएको छ । आव २०८०/८१ मा सीईओलाई ६१ लाख बढी तलब सुविधा प्रदान गरेको थियो । जसमा पूर्व महाप्रबन्धक सञ्जीव थापालाई पारिश्रमिक, भत्ता, तथा सुविधामार्फत ३० लाख ४० हजार १८४ रुपैयाँ (कर सहित) प्रदान गरिएको थियो भने हालका सीईओ अरुण प्रधानलाई पारिश्रमिक, भत्ता, तथा सुविधा मार्फत ३१ लाख ६३ हजार ९६५ रुपैयाँ (करसहित) प्रदान गरिएको थियो । आव २०८०/८१ मा सञ्चालकहरूलाई सञ्चालक समितिको बैठक भत्ताका रूपमा सञ्चालक समितिका अध्यक्षलाई १ लाख ६० हजार तथा अन्य सञ्चालकहरूलाई ५ लाख ९५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । कालिञ्चोक दर्शन कालिञ्चोक दर्शन लिमिटेडले गत आव २०८१/८२ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब तथा अन्य सुविधाबापत २७ लाख २८ हजार ९६९ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका अनुसार सीईओलाई तलब बापत १८ लाख ११ हजार ४० रुपैयाँ, भत्ता तथा बोनस बापत ७ लाख ११ हजार ८५५ रुपैयाँ, सञ्चय कोष बापत १ लाख १२ हजार ४०४ रुपैयाँ र दशैँ भत्ता बापत ९३ हजार ६७० रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आव २०८०/८१ मा प्रमुख सीईओलाई तलब बापत १७ लाख ७४ हजार ८ सय रुपैयाँ, भत्ता तथा बोनस बापत ८ लाख ४० हजार ५२५ रुपैयाँ, सञ्चय कोष बापत १ लाख ८ हजार ७८० रुपैयाँ र दशैँ भत्ता बापत ९० हजार ६५० रुपैयाँ भुक्तानी गरेको थियो । यस्तै, गत आव २०८१/८२ मा कम्पनीले सञ्चालकहरूलाई बैठक भत्ता बापत ५ लाख ७४ हजार रुपैयाँ प्रदान गरेको छ । अघिल्लने आवमा कम्पनीले सञ्चालकहरूलाई बैठक भत्ता बापत ४ लाख ८३ हजार रुपैयाँ प्रदान गरेको थियो । सिटि होटल सिटि होटलले गत आव २०८१/८२ मा कम्पनीका पूर्वमहाप्रबन्धक वाल्टर टोनी सेवियो परेरालाई ३६ लाख ५५ हजार ४१६ रुपैयाँ वरुण तलवारलाई ६९ लाख १२ हजार ७१३ रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आव २०८०/८१ मा कम्पनीले पूर्वमहाप्रबन्धक वरुण तलवारलाई ९० लाख ६३ हजार ९७५ रुपैयाँ भुक्तानी गरेको थियो । यस कम्पनीका सञ्चालकहरूलाई प्रत्येक बैठक बापत १० हजार रुपैयाँ (कर सहित) बाहेक कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा दिइएको छैन । सञ्चालक समितिलाई आव २०८१/८२ मा भुक्तान गरिएको कुल बैठक भत्ता ६ लाख १० हजार रुपैयाँ रहेको छ । अघिल्लो आव २०८०/८१ मा ३ लाख रुपैयाँ कुल बैठक भत्ता भुक्तानी गरिएको थियो । कम्पनीको अध्यक्ष शक्ति कुमार गोल्यान रहेका छन् भने कार्यकारी निर्देशक अक्षय गोल्यान छन् । तर, कार्यकारी निर्देशकको तलब सुविधा बारे भने उल्लेख छैन । बन्दीपुर केबलकार बन्दीपुर केबलकारले आव २०८१/८२ मा कम्पनीका सञ्चालक तथा उच्चपदस्थ पदाधिकारीलाई पारिश्रमिक तथा अन्य सुविधा बापत ३२ लाख ८६ हजार ६७८ रुपैयाँ प्रदान गरेको थियो । अघिल्लो आव २०८०/८१ मा पदाधिकारी एवं सञ्चालकहरूलाई कुल ४९ लाख ४८ हजार ७८६ रुपैयाँ प्रदान गरेको थियो । गत वर्ष कम्पनीले रामचन्द्र शर्मालाई ६ लाख २४ हजार २४१ रुपैयाँ, शिव प्रसाद शर्मालाई १५ लाख ६२ हजार ८५७ रुपैयाँ, तारानाथ उपाध्याय, कृष्णराज अधिकारी र हरिदत्त पौडेललाई समान ५ लाख ४९ हजार २४१ रुपैयाँ, किरण पोखेरललाई ४ लाख २४ हजार २४१ रुपैयाँ, रमा सापकोटालाई ५० हजार रुपैयाँ र बाबुराम अर्याललाई ७५ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता बापत भुक्तानी गरेको छ ।