ग्लोबल आइएमई बैंकको स्मार्ट प्लस एपबाटै अब बैंक खाता ब्लक गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको निक्षेपलाई डिजिटल ठगीबाट सुरक्षित राख्ने उद्देश्यले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत लगइन नगरी नै सेकेन्डभरमै बैंक खाता ब्लक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार पछिल्लो समय फिसिङ, स्क्याम तथा अन्य अनलाइन ठगीका घटना बढ्दै गएपछि ग्राहकको रकम सुरक्षित राख्न यस्तो अत्याधुनिक सुरक्षा प्रणाली लागू गरिएको हो । अब ग्राहकले खाता ह्याक भएको वा अनधिकृत पहुँच भएको आशंका लागेमा तुरुन्तै आफ्नो बैंक खाता रोक्का गर्न सक्नेछन् । यसका लागि ग्राहकले ‘ग्लोबल कनेक्ट’को आधिकारिक नम्बर ०१–५९७०६०० (विदेशबाट +९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधका आधारमा पनि खाता ब्लक गराउन सक्ने बैंकले जनाएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि भने यो प्रक्रिया अझ सहज बनाइएको छ । ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एप खोलेपछि लगइन नगरी नै माथिल्लो दायाँ कुनामा रहेको ‘कल’ आइकनमा क्लिक गरी ‘मिसकल बैंकिङ’भित्रको ‘अकाउन्ट ब्लक बाइ मिसकल’ विकल्प रोज्नासाथ खाता तत्काल ब्लक हुनेछ । बैंकका अनुसार यो सुविधाले फिसिङ, स्क्याम तथा अन्य अनलाइन बैंकिङ अपराधबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्नेछ । बैंकिङ क्षेत्रका विज्ञहरूले समेत यस्ता सुरक्षा प्रणालीले ग्राहकको निक्षेप सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सबै वाणिज्य बैंकलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बैंकका अनुसार उक्त व्यवस्थासँगै आफ्नो नयाँ सुरक्षा प्रणालीले ग्राहकको डिजिटल बैंकिङलाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ । ग्लोबल आइएमई बैंक उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ ।
सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । काठमाडौंस्थित होटल याक एण्ड यतीमा असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लामा सहभागी थिए । आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो । सम्मान ग्रहणपछि निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो उपलब्धि सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताए। उनका अनुसार यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी दिएको छ । फुयालले यस उपलब्धिमा योगदान पुर्याउने सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे । हाल सन नेपाल लाइफले देशभर १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि कांस्य अवार्ड
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले बैंकका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए । बैंकले यो सम्मानले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय प्रतिवेदन मापदण्डको पालना गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ । माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ ।