काठमाडौं । नेपाल बैंक लिमिटेड राष्ट्रिय कार्ड नेटवर्क ‘नेपालपे’ मा आबद्ध भएको छ । यसका लागि नेपाल बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच शुक्रबार सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नेपाल बैंकले आफ्नो प्रणालीलाई राष्ट्रिय पेमेन्ट स्विच (एनपीएस–एनसीएस) मा एकीकृत गरी ग्राहकलाई ‘नेपालपे’ कार्ड जारी गर्नेछ । साथै, उक्त कार्डमार्फत कारोबार स्वीकार गर्ने व्यवस्था पनि मिलाइनेछ ।
एनसीएचएलले हालै ‘नेपालपे’ कार्डको व्यावसायिक सञ्चालन सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय कार्ड नेटवर्क ‘डिस्कभर’सँगको सहकार्यमा नेपालपे कार्ड नेपालभित्र मात्र नभई विदेशमा रहेका एटीएम तथा पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । साथै, ‘रुपे’ लगायतका अन्तर्राष्ट्रिय कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने जनाइएको छ ।
एनसीएचएलका अनुसार एनपीएस–एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै स्वदेशी कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि केन्द्रीय कार्ड स्विचको भूमिका निर्वाह गर्नेछ । यसबाट कार्ड कारोबारको लागत घट्नुका साथै डाटा स्थानीयकरण र डिजिटल भुक्तानी प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
हालसम्म ३५ बैंक तथा वित्तीय संस्था एनपीएस–एनसीएसमा आबद्ध भइसकेका छन् । तीमध्ये सात बैंकले ‘नेपालपे’ कार्ड जारी गरिसकेका छन् भने १० बैंकले कार्ड स्वीकार गर्ने (एक्वायरिङ) सेवा सञ्चालन गरिरहेका छन् । आगामी दिनमा यो संख्या थप बढ्ने एनसीएचएलले जनाएको छ ।
नेपाल बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा सुधार गर्दै आएको जनाएको छ । ‘नेपालपे’ कार्डमार्फत ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक भुक्तानी सेवा उपलब्ध हुने बैंकको विश्वास छ ।