प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिँदै

काठमाडौं ।  नेपाल बिमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा इजलास सञ्चालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी उजुरीको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणकोमा प्रकाशन गर्नसमेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस कारण अपरिहार्य छ बीमा

काठमाडौं । हामी सक्षम छौं, स्वस्थ छौं, कमाउन र जमाउन सकेका छौं । सबै कुरा राम्रै चलिरहेको छ । हामी सोच्छौं, किन बीमा गर्नुपर्‍याे र ? हामीभित्र भएको यो घमण्ड या आफैमाथिको विश्वास, जसले गर्दा बीमा गर्नुपर्छ भन्ने ज्ञान हामीमा छ भने पनि गर्छु नै भन्ने निर्णय गरिहाल्न हिम्मत हामी गर्न सक्दैनौं । हामी सबैलाई जानकारी भएकै कुरा हो, जीवन संधै एकनास चल्दैन । कतिबेला कहाँनेर कसलाई के समस्या आइपर्छ थाहा हुँदैन । आज स्वस्थ छौं भनेर हिँडिरहेका हामी भोलि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । भोलि कतै कुनै दुर्घटनामा परिँदैन भन्न सकिन्नँ र हामी संधै कमाइरहन सक्छौं भन्ने ग्यारेन्टी पनि छैन । यी सबै कुरा जतिखेर पनि हाम्रो जीवनमा आइलाग्न सक्छ । यसरी अचानक हाम्रो जीवनमा घटना भइहाल्यो भने ठूलो धनजनको क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसरी अचानक आइपर्ने आर्थिक भारलाई सामना गर्ने पूर्वतयारी हामीले गरेका छौं ? यदि हामीले पूर्वतयारी गरेका छौं भने हामी ढुक्क हुन सक्छौं । त्यही ढुक्क हुने माध्यम नै बीमा हो । के हो बीमा ? नेपाल लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गर्दै आएकी सरस्वती श्रेष्ठ कुनै व्यक्ति वा उसको परिवारलाई आर्थिक सुरक्षा दिनलाई गरिने वित्तीय योजना बीमा हो भनेर परिभाषित गर्छिन् । उनी भन्छिन्, ‘बीमा सुरक्षा हो । जसले व्यक्ति वा व्यवसायलाई आर्थिक क्षतिबाट जोगाउने काम गर्छ । बीमा वित्तीय सुरक्षा हो । कुनै पनि दुर्घटना, प्राकृतिक प्रकोपजस्ता कारणले हुने क्षतिबाट बीमाले वित्तीय सुरक्षा प्रदान गर्छ ।’ बीमा गरिदिने कम्पनीहरू जसलाई बीमक भनिन्छ । ती कम्पनीहरूमार्फत् व्यक्ति तथा व्यवसायको बीमा गर्न सकिन्छ । बीमा कम्पनीले बीमितको बीमा गराइदिएबापत निश्चित रकम (प्रिमियम) लिन्छ र त्यसको आधारमा भविष्यमा बीमाले ‘रिर्टन’ दिन्छ । बीमा गरेपछि निश्चित समयअवधि राखिन्छ । त्यो समयअवधिमा प्रिमियम रकम तिर्नुपर्छ । त्यो रकम समयअवधि पूरा भएपछि कम्पनीको नीतिअनुरूप रकम फिर्ता आउँछ । बीचमा मृत्यु भयो अथवा भवितव्य घटना भयो भने बेहोर्छ । अभिकर्ता श्रेष्ठका अनुसार बीमा कम्पनीले लिने प्रिमियम कम्पनीअनुसार फरक–फरक हुन्छ । नेपाल सरकारले पनि स्वास्थ्य बीमा गराउँदै आएको छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर एक लाख रुपैयाँ बराबरको उपचार यसबाट लिन सकिन्छ । बीमा कम्पनीहरूले गर्ने बीमा फरक–फरक हुन्छ । बीमाका विभिन्न प्रकार छन् । स्वास्थ्य बीमा, जीवन बीमा, मोटर बीमा, घर बीमालगायत बीमाका प्रकार हुन् । यी हुन् बीमा गर्नैपर्ने कारण दीर्घकालीन योजना बनाउन सहयोग बीमाले दीर्घकालीन योजना बनाउन मद्दत पुर्‍याउँछ । १०/१५ वर्षपछि कुनै योजना बनाउँदै छौं भने त्यतिबेला आज गरेको बीमाले ठूलो मद्दत गर्ने बताउँछिन् अभिकर्ता श्रेष्ठ । ‘१५ वर्षपछि केही योजना बनाउँदैछौं भने आज गरेको बीमाले ठूलो मद्दत गर्छ । १५ वर्षपछि नै गरौंला भनेर सोंच्न थाल्यौं र त्यतिखेर कुनै व्यवसाय या विदेश नै जानुपर्यो भने तत्काल पैसा जुटाउन सकिँदैन । तर, बीमा गरेको छ भने त्यसबाट सहज हुन्छ,’ उनले बीमाको महत्व थप प्रष्ट्याउँदै भनिन् । अहिलेदेखि आम्दानीबाट केही रकम छुट्याएर बीमामा लगानी गर्ने हो भने त्यसले एकातिर जीवन सुरक्षित बनाउने र अर्कोतिर आर्थिक फाइदा पुग्ने उनको भनाइ छ । आर्थिक सुरक्षा सानिमा रिलायन्स लाइफका एजेन्सी म्यानेजर फणिन्द्र श्रेष्ठ कतिपयले आर्थिक अवस्था देखाउँदै बीमा गर्न नखोज्ने बताउँछन् । उनले भने, ‘बीमाबारे बुझेका हुन्छन् तर आर्थिक अवस्थाकै कारण बीमा नगर्नेहरू छन् । बीमा गर्दा भविष्यमा जाखिम कभर हुन्छ भनेर बुझेका भएपनि अहिले गर्नको लागि पैसा छैन भन्दै धेरैले बीमा गर्न सक्नुभएको छैन ।’ कति जनाले भने बीमाबारे जानकार नहुँदा बीमा गर्न नसकेको उनको भनाइ छ । हामीमध्ये भविष्यमा के हुन्छ थाहा छैन । दुर्घटना, चोटपटक, बिमारी, मृत्युजस्ता अचानक आउने आपतकालीन अवस्थाहरूले आर्थिक र भावनात्मक रूपमा तनाव सिर्जना हुन्छ । यदि बीमा गरेको छ भने यी अवस्था आउँदा बीमाले आर्थिक सहयोग प्रदान गर्ने नेपाल लाइफमा काम एजेन्सी म्यानेजर श्रेष्ठ बताउँछन् । परिवारको भरणपोषण परिवारमा एक जना मात्रै कमाइ गर्ने छ र कमाउने व्यक्तिको अचानक मृत्यु या काम गर्नै नसक्ने अवस्था आयो भने त्यो परिवारमा ठूलो आर्थिक संकट आइपर्छ । यो समस्याबाट जोगिन बीमाले ठूलो मद्दत गर्ने एजेन्सी म्यानेजर श्रेष्ठ सुनाउँछन् । बीमा गर्दाका थप फाइदाहरू बचतलाई बढावा बीमासम्बन्धी जानकारहरूले बीमाका अनेक फाइदाबारे उल्लेख गरेका छन् । बीमा जानकारहरूका अनुसार बीमा गर्दा नियमित बचत गर्ने बानीको विकास हुने बताउँछन् । उनीहरूका अनुसार प्रत्येक वर्ष केही रकम प्रिमियमको रूपमा छुट्याएर नियमित बचत गर्दा यसले नियमति बचत गर्न प्रोत्साहित हुन्छ र बचत गर्ने बानीको विकास हुन्छ । उक्त रकम निश्चित समयपछि अर्थात बीमा परिपक्क भएपछि बोनससहित रकम प्राप्त हुन्छ । यो रकम कुनै लगानीमा पनि लगाउन सकिन्छ । अवकाशपछि आर्थिक व्यवस्थापनमा सहयोग आज बीमा गरेको छ भने भोलि वृद्धावस्थामा त्यसले आर्थिक व्यवस्थापन गर्न मद्दत पुग्छ । कामबाट अवकाशपछि नियमित आम्दानी हुँदैन । त्यस्तो अवस्थामा जीवन चलाउन गार्‍हो हुन सक्छ । बीमा गरेको छ भने नियमित आम्दानी नभएपनि बीमाबाट सहायता पुग्ने बीमा जानकारहरू बताउँछन् । अवकाश नीति भनेको एक प्रकारको बीमा योजना हो जसले लामो समयसम्म आफ्नो आम्दानीको एक भाग बचत गर्न र अवकाश पछि आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्छ । जम्मा गरिएको रकम बीमितलाई पेन्सनको रूपमा फिर्ता गरिन्छ । शान्ति र आत्मविश्वास बीमा गरेपछि हामी ढुक्क हुन्छौं । आपतकालीन अवस्थामा ‘मलाई केही भइहाल्यो भने बीमा छँदैछ’ भन्ने मनमा हुँदा यसले शान्ति हुन्छ । भोलि केही भइहाल्यो भने बीमाबाट निकालेर व्यवस्थापन भइहाल्छ भनेर ढुक्क हुँदा यसले आत्मविश्वासमेत बढाउने बीमा जानकारहरू बताउँछन् । ऋण लिन सहज सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामा ऋण लिन सहज छैन । ऋण लिनुभन्दा अगाडिको प्रक्रिया धेरैजसो सर्वसाधारणले नबुझ्ने झन्झटिलो पनि हुने भएकाले धेरैले ऋण लिन सकिरहेका हुँदैनन् । तर, बीमा गरेको छ भने बीमा गर्दा बीमा कम्पनीले बीमितलाई दिने कागजात लगेर कर्जा माग्दा सहजै कर्जा पाइन्छ । बालबालिको उच्च शिक्षामा सहयोग बालबालिकाको जीवन बीमा गरिँदिदा यसले भविष्यमा उनीहरूको उच्च शिक्षाको लागि ठूलो मद्दत पुग्छ । १२ कक्षा पास भइसकेपछि उच्च शिक्षाको लागि जुनसकै विषय पढ्दा वा उच्च शिक्षा पढ्न विदेश जान पनि अरूसँग ऋण खोजिरहनुपरेन । बीमा गरेको पैसाबाट व्यवस्थापन गर्न सहज हुन्छ । पढाइबाहेक अरू कुनै व्यवसाय सुरु गर्न चाहेको खण्डमा पनि आज गरेको बीमाले भोलि ठूलो मद्दत गर्ने बीमा जानकारहरू बताउँछन् ।

नेको इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब चैत १४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय चैत १४ गतेसम्म लम्बिएको छ । फागुन ८ गतेदेखि कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनस्को हकप्रद सेयमार आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा क्षेत्रिय कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले सेयरमा आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।