सलिकोको बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले ‌शुक्रबार बिहान काठमाडौंमा ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ । यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्त्वबारे जनचेतना फैलाउनु हो । कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर, नागपोखरी, गैरीधारा, हिल्टन होटल, नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो । झन्डै ४  किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए । सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीका अनुसार यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउँछन् । कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनै रहने प्रतिवद्दता जनाएको छ ।

एनएलजीको भुक्तानी ३७.९४ करोड रुपैयाँ, बीमा शुल्क आर्जन १७.५७ करोड

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १० करोड १० लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिले गर्दा कम्पनीको नाफामा नकारात्मक असर परेको जनाएको छ । गत आवको असोजमा कम्पनीले ४ करोड ८९ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको पहिलो त्रैमासमा कम्पनीले १७ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५१ लाख १९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३७ करोड ९४ लाख ३५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले १० करोड ४९ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  चालु आवको असोजसम्ममा कम्पनीले ३९ करोड ४० लाख ८८ हजार रुपैयाँ कुल आम्दानी गरी ५४ करोड २७ लाख १० हजार रुपैयाँ कुल खर्च गरेको छ । जबकि गत वर्ष कम्पनीले ३१ करोड १४ लाख ३६ हजार रुपैयाँ कुल आम्दानी गरी २३ करोड ८४ लाख ५५ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा २७ करोड १९ लाख १६ हजार रुपैयाँ, स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड २७ लाख २५ हजार रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ५७ लाख ३९ हजार रुपैयाँ सञ्चिति छ भने जगेडा कोष १५ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी १५.७६ रुपैयाँ ऋणात्मक छ । 

३ महिनामा नेपाल लाइफको नाफा २१ करोड ५५ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ४.९४ प्रतिशत बढेर २१ करोड ५५ लाख ५१ हजार रुपैयाँ गरेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा २० करोड ५४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चाल आवको पहिलो त्रैमासमा कम्पनीको खुद आर्जित बीमा शुल्क १३.१८ प्रतिशत बढेर १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  असोज मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी ३.६७ प्रतिशत बढेर १५ अर्ब ८१ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले १५ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.१५ प्रतिशत बढेर १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ र कुल खर्च ४.३० प्रतिशत बढेर १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ गरेको छ ।  असोजसम्म कम्पनीको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ, महाविपत्ति कोष १.४७ प्रतिशत बढेर १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १२.३५ प्रतिशत बढेर १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटी ६.३२ प्रतिशत घटेर ७० करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ पैसा घटेर ९.५५ रुपैयाँमा सीमित भएको छ । असोजसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८.१४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७७.९९ गुणा रहेको छ ।