बीमितको हीत संरक्षण हाम्रो पहिलो प्राथामिकता : अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितको हीत संरक्षण नै पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार इकोनमिक मिडिया एशोसिएसन अफ नेपाल (इमान) ले आयोजना गरेको ‘अबको बीमा क्षेत्र’ अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् । कार्यक्रममा उनले बीमितको हीत संरक्षणकाो लागि बीमकको वित्तीय स्वास्थ्य बलियो हुनुपर्ने धारणा राखे । उनले भने, ‘बीमा क्षेत्रको हीतका लागि सम्पूर्ण स्टेक होल्डरको हीत सुनिश्चित हुनुपर्छ । बीमितको हीतको कुरा बीमा ऐनको प्रस्तावनामै उल्लेख गरेको छ । बीमकको वित्तीय स्वास्थ्य बलियो भएन भने बीमितको हीत संरक्षण हुन सक्दैन ।’ बीमकको वित्तिय स्वास्थ्य बलियो बनाउनका हामीले प्राधिकरण गर्नुपर्ने सहयोग, सजहीकरणमा संधै तत्पर रहेको र त्यसमा जिम्मेवारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए सबैको हीत समग्रतामा सुरक्षित नभएसम्म बीमाले सही बाटो समात्न नसक्ने भन्ने उनले विचार राखेका छन् । अध्यक्ष ओझाले आफू प्राधिकरणमा नियुक्त भएदेखि नै विभिन्न सरोकारवालारूसँग अन्तरक्रिया, छलफल कार्यक्रम गर्दै आएको बताएका छन् । ‘बीमाका विषयमा हामीले विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै आइरहेका छौं । विभिन्न क्षेत्रका संघसंस्था, बीमक संघ, मध्यस्थताकर्ता संघलगायत विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै आएका छौं,’ उनले भने, ‘उहाँहरूबाट आएका सल्लाह र सुझावको आधारमा हामीले गृहकार्यसमेत सुरु गरिसकेका छौं ।’ प्राधिकरणले विगतमा जारी गरेका निर्देशनहरू एकीकृत रूपमा आइदिएको भए हुन्थ्यो भन्ने धारणा सबैजसो बीमक संघबाट सुझाव आएको उल्लेख गर्दै अध्यक्ष ओझाले त्यससम्बन्धमा कमिटी बनाएर त्यसलाई एकीकृत गर्ने, नियालीमा आएका कतिपय निर्देशनहरु हटाउने साथसाथै आवश्यक पुनरावलोकण गरेर समयअनुकूल बनाउने काम भएको बताए ।
आईएमई लाइफ इन्स्योरेन्सले पायो आईएसओ ९००१ : २०१५ मान्यता
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईएसओ ९००१ : २०१५ मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आईएसओद्वारा प्रदान गरिने आईएसओ ९००१ : २०१५ सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) का लागि आवश्यक अवधारणाहरुको अवलम्वन गरिएको बताउँछ । उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरूमध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनीयता बढ्नुका साथै कर्मचारी र अभिकर्तामा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने ऊर्जा थपेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा पृथक पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापन लगायतका क्षेत्रहरुमा रणनैतिक विकास र डिजिटाइजेसन एवम् अटोमेसनको माध्यमबाट प्रकृयागत सुधार गरी दिगो विकासमा आईएमई लाइफ लागिरहेको बताए ।
नेपालले जोखिममा आधारित पुँजी र सुपरीवेक्षणको अभ्यास गरेको छ : अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ । प्राधिकरणका अध्यक्ष ओझासँग भएको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण, पुनर्बीमा सम्बन्धी नेपालको अनुभव र द्विपक्षीय सम्बन्ध सुदृढीकरण लगायतका विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी गराए । यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए । भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पुँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताइन् । डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्बन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।