क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । क्रेस्ट माइक्रो लाइफले अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा हेटौडा–स्थित फेमस तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । क्षेत्रीय प्रमुख अजय फुयलको सञ्चालनमा भएको कार्यक्रममा हेटौडा तथा आसपासका क्षेत्रका अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत अनुभव र सुझाव आदान–प्रदान गर्दै कार्यक्रममा सहभागिताले थप ऊर्जा र उत्साह प्रदान गरेको बताए । सम्मानित अभिकर्ताहरूले कम्पनीको भविष्यका योजना र लक्ष्यमा प्रभावकारी योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले लघु बीमाको विकास र विस्तारमा अभिकर्ताको महत्वपूर्ण भूमिकाबारे धारणा राखेका थिए । त्यस्तै, बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भावना र अभिकर्ताले अपनाउनु पर्ने रणनीतिबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।
आईएमई लाइफ इन्स्योरेन्सको एएमएल र सीएफटीसम्बन्धी तालिम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण (एएमएल) तथा आतंककारी गतिविधि र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (सीएफटी) सम्बन्धी उच्चस्तरीय तालिम सम्पन्न गरेको छ । तालिममा नेपालमा लागू हुँदै आएका एएमएल/सीएफटी सम्बन्धी ऐन, नियम तथा नियमनकारी निकायका निर्देशनका प्रमुख प्रावधानबारे विस्तृत जानकारी दिएको कम्पनीले जनाएको छ । तालिममा हालसालै नियमनकारी निकायबाट सार्वजनिक गरिएको नयाँ व्यवस्था तथा अद्यावधिक कानूनी दायित्वसमेत समेटिएको थियो । सो अवसरमा विशेषज्ञहरूले बीमा क्षेत्रकै लागि लागू हुने एएमएल/सीएफटी जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा रिपोर्टिङ मेकानिजमबारे व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारणमा व्यवस्थापनदेखि कर्मचारी तहसम्म सबैको समान जिम्मेवारी रहने उल्लेख गर्दै कानुनको प्रभावकारी पालना कम्पनीको सुशासन, पारदर्शिता तथा ग्राहक–लगानीकर्ताको विश्वास बढाउने मुख्य आधार रहेको बताए । त्यसैगरी, कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले सम्पूर्ण व्यवस्थापक तथा विभागीय प्रमुखलाई एएमएलरसीएफटी अन्तर्गतका कानूनी प्रावधान कडाइका साथ पालना गर्न निर्देशन दिँदै यसले कम्पनीको जोखिम नियन्त्रण, विश्वसनीयता र अन्तर्राष्ट्रिय मान्यतामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
बीमा अनुसन्धान र ज्ञान आदानप्रदानका लागि नेपाल बीमा प्राधिकरण र त्रिवि बीच समझदारी
काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमासम्बन्धी अनुसन्धान र ज्ञान आदानप्रदानसम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा र त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सो सम्बन्धी सझादारीपत्रमा हस्ताक्षर गरे । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले बीमा सम्बन्धी अनुसन्धानलाई अगाडि बढाउन र प्राधिकरणका लागि आवश्यक बीमा सम्बन्धी तथ्याङ्क प्राप्त गर्न समझदारीबाट सहयोग पुग्ने बताए । अध्यक्ष शर्माले विश्वमा नयाँ नयाँ अनुसन्धान र नविनतम् प्रविधि विकसित हुँदै गरेको सन्दर्भमा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ प्रभावकारीरूपले व्यापक हुँदै जाने विश्वास व्यक्त गरे । तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले द्विपक्षीय समझदारीबाट अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई बीमा सम्बन्धी अनुसन्धान एवम् ज्ञान आदान–प्रदानमा सहयोग पुग्ने धारणा राखे । समझदारीपत्रमा बीमा क्षेत्रको अवस्था, प्रभावकारिता र चुनौती, बीमा नीति, बीमाको पहुँच, नयाँ बीमालेखको आवश्यकता, दिगो विकासमा बीमा क्षेत्रको योगदान, बीमा सम्बन्धी सरकारी नीति र वित्तीय क्षेत्र लगायतसँग सम्बन्धित अनुसन्धानलाई अगाडि बढाइने उल्लेख छ । यसैगरी, नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धानका क्षेत्र पहिचान गर्ने, त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागले प्राधिकरणको प्राथमिकताका आधारमा बीमा सम्बन्धी अनुसन्धानका लागि विज्ञहरू उपलब्ध गराउने, प्राज्ञिक तथा अनुसन्धानका लागि तथ्याङ्कहरू आदान–प्रदान गर्ने र बीमा अनुसन्धान सम्बन्धी विषयमा तालिम संचालन गर्ने लगायतका विषय समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पुजन ढुंगेल अधिकारी, निर्देशक कुन्दन सापकोटा, निर्देशक शाम्भ राज लामिछाने र निर्देशक निर्मल अधिकारी तथा त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागका प्रा.डा. श्रीजन लाल श्रेष्ठ र लेक्चरर अरूण यादव उपस्थित थिए ।