बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कबुल ४३४ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ । कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।  प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो । प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो । रासस

सूर्यज्योतिको मुगु र खजुरामा शाखा विस्तारसँगै सेवा सुभारम्भ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढीमा आफ्नो शाखा विस्तार गरेको छ ।  थप यी दुई शाखाहरूको विधिवत समुद्घाटन कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत फर्सुराम मरासिनीले गरेका हुन् ।  हाल सूर्यज्योतिले देशभरिका १७५ शाखा कार्यालयहरूमार्फत आफ्ना बीमितहरूलाई सेवा प्रदान गरिरहेको छ ।                            जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो आईएसओ ९००१-२०१५ सर्टिफाइड एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै आइरहेको छ ।  

दाबी बढी परे पनि ओरिएन्टल इन्स्योरेन्स भुक्तानी गर्न सक्षम, एडभान्स भुक्तानी सुरु

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले बीमितको दाबी रकम भुक्तानी गर्न सक्षम रहेको बताएको छ । कम्पनीले जेनजी आन्दोलनबाट अन्य कम्पनीको तुलनामा बढी प्रभावमा परेको ओरिएन्टल इन्स्योरेन्सले बीमितको दाबी भुक्तानी दिन सक्षम रहेको बताएको हाे ।  कम्पनी अनुसार जेनजी आन्दोलनबाट क्षति व्यहोरेका बीमितलाई एडभान्ससहित दाबी भुक्तानी सुरु गरिसकेको छ । कम्पनीका सूचना अधिकारी एवं सिनियर विभागीय प्रबन्धक मान बहादुर ढकालका अनुसार कम्पनीमा हालसम्म  ५ अर्ब ४३ करोड रुपैयाँको एक सय वटा दाबी परेको छ । तीमध्ये ३ करोड ४३ लाख भुक्तानी भइसकेको छ । गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनमा देशभरका विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुग्दा बीमा कम्पनीहरूमा २३ अर्बभन्दा बढीको दाबी परेको छ । सबैभन्दा धेरै दाबी पर्ने कम्पनीमा ओरिएन्टल दोस्रो नम्बरमा रहेको छ ।  ढकालले कम्पनीको नेटवर्थ ठूलो नभए पनि रिटेन्सन पावर बढी हुनुका साथै भारतीय बीमा कम्पनीको ब्राञ्च भएकाले कम्पनीमा ठूलो दाबी परेपनि भुक्तानी गर्न सक्षम रहेको जानकारी दिए । उनका अनुसार सबैभन्दा ठूलो दाबी नक्सालमा अवस्थित हिल्टनको ४ अर्ब रुपैयाँ र युनाइटेड डिस्ट्युब्युसनको एक अर्ब रुपैयाँको रहेको छ । बाँकी साना दाबी रहेको उनले बताए । कम्पनीमा परेको सबै दाबी भुक्तानी गर्ने दायित्व कम्पनीको मात्रै नभएको र तिर्नुपर्ने दायित्व बाँडफाँट भएको हुँदा कम्पनीलाई दबाव नपर्नेसमेत उनले प्रष्ट पारे । हिल्टन र युनाइटेडलाई छोडेर बाँकी दाबी तिर्न कम्पनीले सुरु गरिसकेको उल्लेख गर्दैै ढकालले बीमितलाई नआत्तिन र ढुक्क हुन आग्रह गरे ।   उनले भने, ‘ज–जसले दाबी गर्नुभएको छ, उहाँहरूसँग क्लेम डिपार्टमेन्टले फलोअप गरिरहेको छ, उहाँहरूबाट न्यूनतम कागजपत्र आउनेवित्तिकै मूल्यांकन गरेर भुक्तानी गरिहाल्छौं, सबै बीमितले भुक्तानी पाउनेछन्, त्यसमा ढुृक्क हुनुस् ।’ कम्पनीमा ठूलो दाबी परेको हुँदा कम्पनीको ब्यालेन्स सिटमा केही प्रभाव पर्ने देखिन्छ । सूचना अधिकारी ढकालले यो वर्ष ठूलो रकम बाहिर जाने हुँदा कम्पनीको कम्पनीको नाफामा असर पर्नुका साथै ब्यालेन्ससिट केही खुम्चिन सक्ने बताए ।  यद्यपि यसअघि पनि ठूला दाबी कम्पनीले भुक्तानी गरेको हुँदा यो वर्ष तिर्नै नसक्ने अवस्था भने नहुने उनको भनाइ छ । उनले यो घटनालाई अवसरको रूपमा समेत लिएको सुनाए । नगद प्रवाहमा छैन समस्या जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा एकै पटक ठूलो दाबी परेको हुँदा नगद प्रवाहको समस्या हुन सक्ने शंका/उपशंका बजारमा छ । तर ओरिएन्टल इन्स्योरेन्समा त्यस्तो कुनै समस्या नभएको सूचना अधिकारी ढकालले बताए ।  ‘बीमा कम्पनीले योभन्दा अघि पनि ५०/६० करोड रुपैयाँसम्मको भुक्तानी आफै नै व्यवस्थापन गरेको उदाहरण छ,’ उनले भने, ‘ठूलो दाबीको लागि नेपाल पुनर्बीमा कम्पनीले दिएपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्छ, बाँकी दाबी तिर्नको लागि नेपाल रिसँग भर पर्नु पर्दैन । हामीसँग भुक्तानीको लागि पुग्दो रकम छ ।’ उनका अनुसार ठूलो दाबीको हकमा ओरिएन्टलले नेपाल रिसँग निरन्तर छलफल गरिरहेको छ । ‘हामीले पुनर्बीमा कम्पनीसँग समन्वय गरिरहेका छौं, उहाँहरूले पनि राम्रो रेस्पोन्स गरिरहनुभएको छ, भुक्तानी दिन्छौं भनिरहनुभएको छ,’ उनले भने । ढकालका अनुसार हिल्टनमा अहिले कम्पनीले नेपाली र भारतीय गरेर जोइन्ट सर्भेयर खटाएको छ । साथै हिल्टनले पनि आफ्ना विशेषज्ञ खटाएर अध्ययन गरिरहेको छ । सर्भेयरहरबाट अहिले अध्ययन भइरहेको र सर्भेको रिर्पोट आएपनि भुक्तानी प्रक्रिया अघि बढ्ने उनले बताए ।  युनाइटेडको हकमा पनि कम्पनीले प्रतिवेदन बुझाएपछि भुक्तानीको प्रक्रिया जाने उनले जानकारी दिए । कस्तो छ कम्पनीको वित्तीय अवस्था ? ओरिएन्टल इन्स्योरेन्स चुक्ता पुँजीबिना नै सञ्चालित कम्पनी हो । कम्पनीको गत आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्मको रिपोर्टअनुसार कम्पनीको स्पेशल रिजर्भ फण्डमा एक अर्ब ६९ करोड मात्रै सञ्चित रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ६ करोड ६८ लाख, रिर्टन्ड अर्निङ ७ करोड २५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, गत वर्ष कम्पनीले ८ करोड २९ लाख २३ हजार रुपयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल सम्पत्ति ६ अर्ब २९ करोड ३२ लाख रुपैयाँ रहेको छ । कुल इक्विटी २ अर्ब ६४ करोड ३९ लाख रुपैयाँ र कुल दायित्व ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  बीमा प्राधिकरणले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले असोज मसान्तसम्ममा ११ हजार ७७२ पोलिसी जारी गरेर ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकाे छ ।