क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । फागुन २२ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गरेको छ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आईएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, आव २०८०/०८१ को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण पारित गरेको छ। साथै उक्त सभाले आव २०८१/०८२ को लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्न प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/०८१ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पूँजी पाँच अर्ब मात्रको २१.०५२६४ प्रतिशत (अक्षरेपी एक्काइस दशमलब शून्य पाँच दुई छ चार प्रतिशत) का दरले हुने रकम एक अर्व पाँच करोड छब्बीस लाख बत्तीस हजार रुपैंया नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरको छ । यसका साथै उक्त सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ । उक्त सभाले आव २०८०/०८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ । सभाध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनी आर्थिक स्थायित्व, आधुनिक प्रविधिको उपयोग, सेवा विस्तार तथा नयाँ बीमा योजनाहरूको विकास गर्दै शेयरधनीहरुको लगानीलाई सुरक्षित राख्दै दीर्घकालीन रूपमा आकर्षक प्रतिफल प्रदान गर्न तदरुकताका साथ लागिरहेको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा पर्‍यो उजुरी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारलाई ढाँटेर झुटो विवरण बुझाएर नियुक्ति लिएको आरोप लगाउँदै दीपक बोहराले अध्यक्ष ओझाविरुद्ध उजुरी हालेका हुन् । बोहराले छानविन गरी कारबाहीको मागसमेत राखेका छन् । ‘ओझाले अध्यक्ष नियुक्ति प्रक्रियामा बुझाएको अनुभवसम्बन्धी अधिकांश प्रमाणहरू झुटा हुन्,’ आरोपपत्रमा लेखिएको छ, ‘नेपाल सरकारलाई झुटा विवरण बुझाएर लाखौंलाख बीमितहरूले तिरेको करिब सात खर्ब रुपैयाँको सदुपयोग गरी बीमितको हीत र देशविकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणजस्तो निकायमा नियुक्ति लिन सफल भएका ओझामाथि छानविन गरी तत्काल कारबाही गर्नुपर्छ ।’ उजुरीपत्रमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयसम्बन्धी मापदण्ड २०७३ (पहिलो संशाेधन) ले प्राधिकरणको अध्यक्ष बन्न ३५ वर्ष नाघेको हुनुपर्ने भनिएको भएता पनि ओझाको उमेर ३३ वर्ष मात्रै भएकोले उनी प्राधिकरणको अध्यक्ष बन्न लायक नभएको उल्लेख छ । ओझालाई फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अध्यक्षमा नियुक्त भएदेखि उनको क्षमतामाथि विभिन्न प्रश्नहरू उठ्दै आएका छन्।