शिखर र सलिकोबीच प्रतिस्पर्धा, यी हुन् सात महिनामा २ अर्ब बढीको व्यवसाय गर्ने ४ कम्पनी
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको माघसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले सो बीमा शुल्क संकलन गरेका हुन् । जुन बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । प्राधिकरणको तथ्यांक अनुसार माघमा मात्रै २ लाख ३२ हजार ३६१ बीमा लेख जारी हुँदा कुल ३ अर्ब ४७ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ । चालु आवको माघमा निर्जीवन बीमा कम्पनीहरुले गरेको व्यवसाय गत आवको माघमा गरेको भन्दा बढी हो । गत आवको माघमा कम्पनीहरुले २ लाख ६१ हजार ५९० बीमा लेख जारी गरेर ३ अर्ब १४ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका थिए । चालु आवको माघसम्मको तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेको छ । तथ्यांकअनुसार उक्त कम्पनीले माघ मसान्तसम्ममा कुल ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले माघमा मात्रै ५४ करोड १७ लाख व्यवसाय गरेको छ । शिखर इन्स्योरेन्सपछि सगरमाथा लुम्बिनी (सलिको) को व्यवसाय धेरै छ । सलिकोले माघसम्ममा एक लाख ६२ हजार ९६३ बीमालेख जारी गर्दा कुल २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । सलिकोले माघमा मात्रै २२ हजार ९४९ बीमालेख जारी गरी ३८ करोड ३९ लाख व्यवसाय गरेको छ । त्यस्तै तेस्रोमा सिदार्थ इन्स्योरेन्स कम्पनीले माघसम्ममा १ लाख ७६ हजार ८३९ बीमा लेख जारी हुँदा २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले माघमा मात्रै ३० करोड ९३ लाख बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रडेन्सियलले माघसम्मा २ अर्ब २ करोड ६८ लाख व्यवसाय गरेको छ । माघ मसान्तसम्ममा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९५ करोड २ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड १८ लाख, एलएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड १६ लाख, द ओरिन्टियलले १ अर्ब ५२ करोड ५२ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड ९२ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब २५ करोड ९५ लाख, युनाइटेड अजोडले १ अर्ब ४० करोड १४ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड ८ लाख, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको तालिम तथा सेमिनार सम्पन्न
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनारको आयोजना गरेको छ । तालिम तथा सेमिनारमा कम्पनीका ७ वटै प्रदेशका प्रमुख, विभागीय प्रमुख तथा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकसमेतको सहभागिता रहेको थियो । उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकलाई अनुपालन तथा एएमएल सीएफटी बारेमा विस्तृत रूपमा जानकारी गराए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायले दिएको निर्देशन, त्यसैगरी ऐन नियम, कानुन र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरंशः पालना गरी ग्राहकलाई सेवा प्रदान गर्न निर्देशन दिए । सोही अवसरमा उनले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीलाई दैनिक रूपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरूको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।
बीमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, कसको सम्भावना बढी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सिफारिस समितिले ३ जनाको नाम सर्टलिष्ट गरी सिफारिस गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो । सिफारिस समितिले आवेदन दिएका १२ जनामध्ये कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्ट गरेको थियो । सर्टलिष्टमा परेकालाई व्यावसायीक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते २ बजे अर्थमन्त्रालयमा बोलाइएको थियो । कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्तापछि तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइएको हो । अब तीन जनामध्ये एक जना अध्यक्ष बन्नेछन् । सर्टलिष्टमा परेका ओझा अध्यापन गर्छन् भने बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । पुडासैनी हाल कृषि विकास बैंकको अध्यक्षसमेत हुन् । प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले गत पुस २६ गते आवेदन आह्वान गरेको थियो । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचार मुद्दामा सूर्यप्रसाद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन छ । सिलवाल निलम्बित भएपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।