नेपाल लाइफ इन्स्योरेन्सलाई ‘डबल ए माइनान्स’ रेटिङ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘डबल ए माइनान्स’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च रहेको र जोखिम न्यून रहेको मानिन्छ ।  नेपाल लाइफले सन् २००१ देखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको  छ । कम्पनीले हाल देशभर करिब १९० भन्दा बढी शाखा विस्तार गर्दै आएको छ । अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थान समूह मिलेर सञ्चालन हुँदै आएको यस कम्पनीले जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा राख्दै आएको छ । कम्पनीको कुल बीमा आम्दानीमा २५ प्रतिशतभन्दा बढी अंश रहेको छ । जसले कम्पनीको नाफा र प्रिमियम बढाउन सहयोग पुगेको छ । कम्पनीको पहिलो वर्षको प्रिमियममा केही उतारचढाव भए पनि नवीकरण प्रिमियम आम्दानीले उल्लेखनीय नाफा कमाउँदै आएको छ । कम्पनीको लगानीको गुणस्तर पनि राम्रो मानिएको छ । स्थिर आम्दानी दिने निक्षेप र साधनहरूमा गरिएको लगानीले कम्पनीलाई सुरक्षित प्रतिफल दिलाएको छ । हाल ब्याजदर घट्दो क्रममा भए पनि कम्पनीले झन्डै ९.३ प्रतिशतसम्म औसत ब्याज दर पाएको छ । कम्पनीको करिब ९९ प्रतिशत व्यवसाय बचतमुखी बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्याएको छ । २०८२ साउनसम्ममा कम्पनीको सॉल्भेन्सी अनुपात करिब १४५ प्रतिशत रहेको छ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड १३० प्रतिशतभन्दा माथि हो । कम्पनीले आफ्ना बीमा जोखिमहरूलाई नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेड मार्फत पुनर्बीमा  गरेको छ ।

नक्सालको भाटभटेनीमा बीमा गरिएकोभन्दा बढी क्षति, साढे २६ करोड रुपैयाँ ‘एडभान्स’

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनमा नक्साल स्थित भाटभटेनीमा पुगेको क्षतिको शिखर इन्स्योरेन्समा ६६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्सबाट सर्भेका लागि खटिएका सर्भेयर सूर्यप्रसाद जोशीका अनुसार सामानको मात्रै ६० करोड रुपैयाँ दाबी परेको छ । साथै, कम्पनीमा भवनको मात्रै ६ करोड रुपैयाँको दाबी परेको उनले बताए । उनका अनुसार बीमा दाबी परेको रकमको शिखर इन्स्योरेन्सले भाटभटेनीलाई ‘एडभान्स’ स्वरूप साढे २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सर्भेयर सूर्यप्रसाद जोशीका अनुसार कम्पनीले भवनको सरसफाइ, पुनर्निर्माणमा राहत होस् भनेर परेको दाबीमध्ये २५ करोड रुपैयाँ र भवनमा परेको दाबी रकममध्ये डेढ करोड भुक्तानी गरेको हो । आन्दोलनको कारण क्षतिग्रस्त नक्सालको भाटभटेनीको क्षति मूल्यांकनका लागि शिखर इन्स्योरेन्सले सर्भेयर जोशी र नेपाल पुनर्बीमाको तर्फबाट जगन्नाथ गौतमलाई खटाइएको छ । भवन पूर्ण रुपले जलेर क्षति पुगेको हुँदा अहिले सर्भे जारी रहेको र यति नै भनेर क्षतिको मूल्यांकन भइ नसकेको उनले बताए । उनका अनुसार अहिले खरिद गरेको सामानको बिल कलेक्सन भइरहेको र सबै बिल प्राप्त भएपछि मात्रै कति क्षति पुगेको भन्न सकिनेछ । ‘हामीले हेर्ने भनेको खरिद गरेको सामानको बिल हो, जुन कलेक्सन भइरहेको छ, उहाँहरूबाट सबै बिल प्राप्त भएपछि कति क्षति पुग्यो भन्न सकिने छ,' उनले भने ।  भवन पूर्ण रुपमा जलेर नष्ट भएको हुँदा बीमा गरेकोभन्दा बढी क्षतिको रकम आउन सक्ने जोशीको भनाई छ । क्षति रकम बढी आएपनि बीमा गरेको जति मात्रै भुक्तानी गर्ने कम्पनीको दायित्व भएको उनले बताए । उनले भने, ‘क्षति पुगेको सामानको हकमा चाडपर्व नजिकैको समयमा घटना भएको हुँदा बीमा गरेको भन्दा बढी छ भन्ने उहाँहरूको दाबी छ । तैपनि बीमा गरेअनुसार दाबी हुन्छ ।’ नक्सालमा रहेको भाटभटेनीमा अहिले भवन भत्काउने र सरसफाइको काम सुरु भएको छ । यस्तै देशभरका विभिन्न ठाउँमा क्षति पुगेको भवनमा कुनैमा पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ भने कुनै पुनर्निर्माणकै क्रममा रहेको छ ।  जेनजी प्रदर्शनका क्रममा देशभर भाटभटेनी सुपरमार्केटको १२ वटा स्टोर पूर्ण रुपमा क्षति पुगेको थियो । बाँकी ९ वटा आउटलेटमा भने लुटपाट र तोडफोड र आगजनी भएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) मा  मा दीपक कुमार धूत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई डिसीईओ पदमा नियुक्त गरेको हो । निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको जनाएको छ ।  ३० वर्षदेखि नेपालको निर्जीवन बीमा क्षेत्रमा कार्यरत धूत, इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको फेलो मेम्बर रहेका छन् । इन्धिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले यूएनडीपीबाट इन्क्यूलिसिभ इन्स्योरेन्स सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् ।