बाढी–पहिरोको बीमा कम्पनीमा ३ अर्ब २६ करोडको दाबी, सबैभन्दा धेरै सम्पत्ति बीमाको
काठमाडौं । गत असोज १८ गतेयता देशभरका विभिन्न ठाउँमा परेको अविरल वर्षा तथा बाढी–पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको बीमा कम्पनीमा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा ७०४ वटा बीमा दाबीको करिव ३ अर्ब २६ करोड ७६ लाख दाबी परेको हो । प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सम्पति बीमामा परेको छ । सम्पति बीमामा २ अर्ब ७० करोड ६९ लाख रुपैयाँको ३६४ वटा दाबी परेको छ । दोस्रो धेरै दाबी इन्जिनियर तथा ठेकेदारमा ४८ करोड ४ लाख रुपैयाँको ८७ वटा दाबी परेको छ । त्यस्तै, कृषि तथा बाली बीमामा ४ करोड ३२ लाख रुपैयाँको २०९ वटा, मोटर बीमा (निजी) मा २ करोड ५२ लाख रुपैयाँको ३३ वटा, मोटर बीमा (सावैजनिक) मा १ करोड ५ लाख रुपैयाँ र अन्य बीमामा १२ लाख रुपैयाँ बराबको दाबी परेको प्राधिकरणले जनाएको छ ।
जेनजी आन्दोलनपछि २३ अर्ब १९ करोड बीमा दाबी, १ अर्ब ९५ करोड भुक्तानी
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट भएको सम्पत्तिको क्षतिमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी संख्याको सो रकम बराबरको दाबी परेको हो । कम्पनीहरूले असोज २८ गतेसम्ममा १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका छन् । असोज २८ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । उक्त कम्पनीमा ३९४ वटा दाबी संख्याको ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँको दाबी परेको छ । जसमध्ये कम्पनीले बीमितलाई ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ । दोस्रो धेरै दाबी पर्ने कम्पनी दि ओरिएन्टलमा ५ अर्ब २४ करोड ८२ लाख रुपैयाँको ९८ वटा दाबी परेको छ । जसमध्ये कम्पनीले ७१ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । तेस्रोमा आइजीआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म ३० करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्समा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँको ४३३ वटा, सगरमाथा लुम्बिनीमा १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँको ३४२ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १५ करोड ५४ लाख रुपैयाँको २५९ वटा, हिमालयन एभरेष्टमा ९८ करोड ६२ लाख रुपैयाँ बराबरको २७० वटा दाबी परेको छ । जसमा शिखरले ४२ करोड २७ लाख रुपैयाँ, सलिकोले २ करोड ७९ लाख रुपैयाँ, नेकोले ८ करोड ३९ लाख रुपैयाँ र हिमालयन एभरेष्टले २४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । त्यसैगरी, सानिमा जीआईसीमा ८८ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोडमा ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६० करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ८९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २१ करोड ८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ८ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमा सानिमाले २ लाख रुपैयाँ, युनाइटेडले १ करोड ७८ लाख रुपैयाँ, एनएलजीले ३९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ, प्रभुले १४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । लघु बीमा कम्पनीहरूमा प्रोटेक्टिभमा १ करोड ३९ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रोमा ६५ लाख रुपैयाँ, नेपाल माइक्रोमा ५९ लाख रुपैयाँ दाबी परेको छ । दाबी परेकोमध्ये प्रोटेक्टिभले २ लाख रुपैयाँ, टस्टले २२ लाख रुपैयाँ र नेपाल माइक्रोले २ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
बीमा प्राधिकरणमा ४२६ उजुरी, २७ वटा फर्छ्यौट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा बीमा प्राधिकरणमा ४२६ वटा उजुरी दर्ता भएको छ । प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा र गत आवको ३९४ गरी कुल ४२६ वटा उजुरी दर्ता भएको हो । जसमध्ये २३ वटा उजुरीको फैसला र ४ वटाको सहमति गरी २७ वटा उजुरी फर्छ्यौट भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार फर्छ्यौट हुन बाँकी उजुरीको संख्या ३९९ वटा रहेको छ । गत आवको यही अवधिमा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए । जसमध्ये ८५ वटा उजुरीको फैसला र ४६ वटा उजुरीको सहमति गरी १३१ वटा उजुरी प्राधिकरणले फर्छ्यौट गरेको थियो । बाँकी रहेको ३९४ वटा उजुरी चालु आर्थिक वर्षमा सरेर आएका हो ।