बीमा प्राधिकरणको नाफा ५.७७ प्रतिशत बढ्यो, कुल सम्पत्ति १०.१५ अर्ब रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक वर्षमा झण्डै डेढ अर्ब नाफा गरेको छ । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड ७९ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आघिल्लो आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणले १ अर्ब २५ करोड ५४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा प्राधिकरणले गत वर्ष ५.७७ प्रतिशत अर्थात् ७ करोड २४ लाख ७२ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको हो । गत वर्ष प्राधिकरणले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी, ५० करोड ७८ लाख रुपैयाँ अन्य आम्दानी र २ अर्ब १४ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्ष प्राधिकरणले १ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ सञ्चालन आम्दानी, ५६ करोड ६६ लाख रुपैयाँ अन्य आम्दानी र २ अर्ब १४ करोड ४६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । साथै गत वर्ष प्राधिकरणले कर्मचारीहरूका लागि १९ करोड १९ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । जबकी अघिल्लो वर्ष प्राधिकरणले १६ करोड १७ लाख रुपैयाँ कर्मचारी खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्राधिकरणका कर्मचारी खर्च १८.६८ प्रतिशत बढेको हो । यस्तै गत वर्ष प्राधिकरणले व्यवस्थापक खर्च १६ करोड २४ लाख ९२ हजार रुपैयाँ र कुल खर्च ३७ करोड ८३ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष प्राधिकरणले व्यवस्थापन खर्च २८ करोड ३६ लाख रुपैयाँ र कुल खर्च ४६ करोड ८० लाख ८१ हजार रुपैयाँ गरेको थियो । गत वर्ष प्राधिकरणले ४४ करोड २६ लाख ६१ हजार रुपैयाँ आयकर तिरेको छ । जबकी अघिल्लो वर्ष ४२ करोड ४७ लाख रुपैयाँ आयकर तिरेको थियो । आव २०८०/८१ को असारसम्ममा प्राधिकरणको कुल सम्पत्ति १० अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कुल सम्पत्ति ८ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ थियो । साथै गत असारसम्म प्राधिकरणले ६ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।
बीमा प्राधिकरणको निर्देशकमा तिमल्सिना, सापकोटा, लामिछाने र अधिकारी बढुवा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशकमा ४ जना नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले ४ जना उप निर्देशकलाई निर्देशकमा बढुवा नियुक्त गर्न सिफारिस गरेको हो । पदपूर्ति समितिको फागनु २ गतेको निर्णय अनुसार ध्रुब तिमल्सिना, कुन्दन सापकोटा, साम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवाका लागि सिफारिस भएका हुन् । प्राधिकरणका अनुसार ४ जना निर्देशक पदका लागि गत माघ १८ गते ९ जनाले दरखास्त पेस गरेका थिए । उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम वापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको हो । ४ जनाको बढुवा भएसंगै प्राधिकरणमा निर्देशकको संख्या ६ जना पुगेको छ ।
सलिको र इनड्राइभबीच सम्झौता, इनड्राइभ प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । उक्त बीमा योजनाले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहित सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । सम्झौतामा इनड्राइभ नेपालका कम्पनी प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुर्घटनाबाट मृत्यु भएमा ८ लाख रूपैयाँ क्षतिपूर्ति हुनेछ भने पूर्ण स्थायी अशक्तता भएमा ८ लाख भुक्तानी हुनेछ। त्यस्तै औषधोपचार खर्चका लागि ८० हजारसम्म सहयोग हुनेछ भने नाबालिग यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत भुक्तानी हुनेछ । यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन् । उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।