वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड संकलन, सन नेपालले कमायो सर्वाधिक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ११ जीवन बीमा र ३ वटा लघु बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर उक्त रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले चैत्र महिनामा मात्रै ७१ हजार ७२४ बीमालेख जारी गरेर ३० करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  यस अवधिमा वैदेशिक रोजगार बीमालेखबाट सन नेपाल लाइफले सर्वाधिक व्यापार गरेको छ । सन नेपालले चालु आवको ९ महिनामा ८ लाख ७९ हजार ८२९ वटा बीमालेख जारी गरी ९८ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ । वैदेशिक रोजगार बीमालेखबाट धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा एशियन लाइफ इन्स्याेरेन्स रहेको छ । उक्त कम्पनीले २ लाख ३३ हजार ८४२ बीमालेख जारी गरेर ६७ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ । त्यसैगरी तेस्रोमा नेपाल लाइफ इन्स्याेरेन्स रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा कुल ५ लाख ७१ हजार ४९४ बीमालेख जारी गरेर १८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । ९ महिनाको अवधिमा वैदेशिक रोजगार बीमालेखबाट आईएमई लाइफले २ लाख ३९ हजार ८०६ बीमालेख जारी गरी  १७ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ र हिमालयन लाइफले ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।  लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले ९५८ बीमालेख जारी गरेर ४० लाख ८३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  

नेपाल लाइफले भव्यताका साथ मनायो २४औं वार्षिकोत्सव

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा देशको १० स्थानमा रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन भएको थियो । यस अवसरमा कम्पनीले देशको सातैवटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको  टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ ।  कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौं वर्ष पूरा गरी पच्चीसौं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सबैलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । 

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्ताले ४.५ प्रतिशत बोनस सेयर पाउने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले आव २०८०/८१ सम्मकाे वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  जसमा ४.५ प्रतिशतले हुन आउने ४६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशतले हुन आउने २ करोड ४६ लाख ३१ हजार ५७८.९५ रुपैया बराबरको नगद लाभांश प्रस्ताव गरेका छन् । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् लगानीकर्ताले पाउने छन् ।