विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली । विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ । विसं २०८१ जेठदेखि सुरु भएको उक्त सडकमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको व्यास नगरपालिकाले जनाएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।  व्यास नगरपालिकाको वडा नं ७, ९, १० र ११ लाई जोड्ने पराशर मार्गअन्तर्गत बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक कालोपत्र गरिनेछ । उक्त खण्डमा १०।५५ किलोमिटर दूरी कालोपत्र हुने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।  उक्त सडक स्तरोन्नतिका लागि २०८१ साल वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसीएल एसिपीएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार ४२७ रुपैयाँको ठेक्का आह्वान भएको थियो ।  त्यसमध्ये नौवटा फर्मले बोलपत्र दर्ता गराएकामा २३.४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो । विसं २०८२ असारसम्म यसको म्याद रहेकामा काम नसकिएपछि २०८३ असारसम्म म्याद थप भएको छ ।  दश दशमलव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिनेछ । उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्तीलगायतका ठाउँ जोड्छ । रासस    

सिटिजन्स बैंकको १९ वर्ष : सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैशाख ७ गते १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा १९औँ वार्षिकोत्सव मनाएको छ । १९ वर्षको अवधिमा बैंकले २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । सातै प्रदेशमा आफ्नै भवनमार्फत प्रदेश कार्यालय सञ्चालन गरिरहेको बैंकले देशभर २०० शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बैशाख ७ गते बिहान सातै प्रदेशमा करिब ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममार्फत जनमानसमा वित्तीय साक्षरताको अभिमुखीकरण हुने अपेक्षा गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले “रक्तदान नै जीवनदान” भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातै प्रदेशका २० शाखाबाट ५५० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसै अवसरमा कोशी प्रदेशको दिक्तेल शाखा, बागमती प्रदेशका तेमाल र लाम्बगर शाखा, लुम्बिनी प्रदेशका बेलाटारी र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेशका धारापानी र बेनी शाखा, कर्णाली प्रदेशको जुफाल शाखा तथा सुदूरपश्चिम प्रदेशको अमरगढी शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमार्फत करिब ५०० सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधि पनि निःशुल्क प्राप्त गरेका छन् । 

महालक्ष्मी विकास बैंकमार्फत यूनियनपे वालेटबाट नेपालमै क्यूआर भुक्तानी सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडमार्फत भुक्तानी स्वीकार गर्ने सुविधा सुरु गरेको छ । यो सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे प्लेटफर्ममार्फत लागू गरिएको हो । यससँगै यूनियनपे डिजिटल वालेट प्रयोगकर्ताले नेपालभर रहेका महालक्ष्मी विकास बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरूमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । विशेषगरी चीनलगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूलाई यस सुविधाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले यात्राका क्रममा नगद बोक्नुपर्ने बाध्यता घटाउने बैंकको विश्वास छ । सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वकै ठूला भुक्तानी सेवा प्रदायकहरूमध्ये एक हो । यसले ९.६ अर्बभन्दा बढी कार्ड जारी गरिसकेको छ भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ । बैंकका अनुसार यस सेवाको सुरुवातसँगै नेपालमा उपलब्ध क्यूआर पूर्वाधार अझ प्रभावकारी बन्नेछ । साथै डिजिटल नवप्रवर्द्धनलाई सुरक्षित, प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ । यसैबीच, बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना सार्वजनिक गरेको छ । सोहीअनुसार 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एपमार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये गोलाप्रथाबाट तीन जनालाई आकर्षक भ्रमण प्याकेज प्रदान गर्ने योजना ल्याइएको छ ।