सिटिजन्स बैंकले मनाउँदै ‘डिजिटल मन्थ उत्सव’, वैशाखभर विशेष अफर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्य रूपमा मनाउने भएको छ । बैंकले ‘१९औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३’ अन्तर्गत वैशाख महिनाभर विविध कार्यक्रम तथा छुट योजना सञ्चालन गर्ने जनाएको छ । बैंकका अनुसार उक्त अवधिभर ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गरिनेछ । निष्क्रिय डेबिट कार्डलाई पीओएस वा ई–कमर्स कारोबारमार्फत सक्रिय गराउने ग्राहकले कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । साथै, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत ई–कम कार्ड अनुरोध गर्दा एस्योरेन्स शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ । त्यस्तै, निष्क्रिय व्यवसायिक क्यूआर भएका ग्राहकले आफ्नो क्यूआर सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । होटल तथा रेस्टुरेन्टमा पीओएस मेसिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट दिइने बैंकले जनाएको छ । मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत लकर सुविधा अनुरोध गर्दा वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । बैंकले पारिवारिक सदस्यको नयाँ खाता रेफर गर्ने ग्राहकलाई प्रति खाता १०० रुपैयाँ क्यासब्याक तथा मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी लिने ग्राहकलाई २०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना पनि ल्याएको छ । बैंकका अनुसार यी सबै कार्यक्रम वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउनुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो । यससँगै सिटिजन्स फोनपे क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरिएको छ । ‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । हाल बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेनजी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ । यसैगरी, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याउनुका साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा, तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंक शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा समेत सुरु गरेको बैंकले जनाएको छ ।

प्रभु बैंकले ५ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने, ८.५० प्रतिशत लाभांश

काठमाडौं । प्रभु बैंकले ८.५० प्रतिशत लाभांशदरमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर (परपेचुअल नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले विशेष साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायत नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि उक्त सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनी सचिव अमित भण्डारीका अनुसार बैंकले प्रतिसेयर १०० रुपैयाँ दरका ५ करोड कित्ता अर्थात् कुल ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्नेछ । उक्त सेयरमा ८.५० प्रतिशत लाभांशदर कायम गरिनेछ भने मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण गरिने जनाइएको छ । 

कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धिका लागि नयाँ वर्ष २०८३ को अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली ले अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना दिने प्रक्रिया मात्र नभई व्यवहार परिवर्तन गराउने माध्यम भएको उल्लेख गर्दै कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्‍याउने विश्वास व्यक्त गरेको छ । बैंकका अनुसार कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्त्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग तथा आर्थिक योजना जस्ता विषयलाई सरल, रोचक र सन्देशमूलक कथामार्फत समेटिएको छ । यो कथा संग्रह देशभरका विभिन्न विद्यालयमा वितरण गरिने बैंकले जनाएको छ। यसबाट विद्यार्थीहरूमा प्रारम्भिक उमेरदेखि नै वित्तीय अनुशासन, बचत गर्ने बानी तथा जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, बैंकले आफ्ना नयाँ ग्राहकलाई खाता खोल्दा प्रोत्साहनस्वरूप खुत्रुकेसँगै उक्त कथा संग्रह समेत उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । यसले बचत व्यवस्थापनलाई व्यवहारिक रूपमा प्रवर्द्धन गर्ने विश्वास बैंकको छ । अभियानअन्तर्गत कथा संग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण समेत गरिएको छ । भिडियो सामग्रीमा कथाका पात्रलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले समेटिएको बैंकले जनाएको छ । बैंकका अनुसार यी भिडियो विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको हो, जसले वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सहज माध्यमबाट बुझ्न मद्दत गर्नेछ । कथा संग्रहसँग सम्बन्धित भिडियो सामग्री प्रत्येक हप्तामा दुई दिन बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । बैंकले यस अभियानमार्फत समुदायस्तरमा वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ ।