काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
संशोधित कार्यविधिमा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेले स्वरोजगार हुन सञ्चालन गर्ने विभिन्न उद्योग तथा व्यवसायका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।
यस्तो कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग तथा नयाँ उद्यम सञ्चालनका लागि लिन सकिनेछ । त्यस्तै, नेपाल सरकारले समय-समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारमूलक व्यवसायका लागि समेत कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।
कार्यविधिअनुसार कर्जा सुविधा लिन जेनजी आन्दोलनको शहीद परिवार वा घाइते भएको कुरा नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ ।
कार्यविधिमा ‘जेनजी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउने स्पष्ट पारिएको छ ।