तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो ।

महाशाखाका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन एक–एक थानका दरले खरिद गर्न पाइनेछ । एक व्यक्तिले बढीमा दुई थान मात्र खरिद गर्न सक्नेछ ।

बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई बिक्री गरिनेछ । बिक्री मौज्दात कायम रहेसम्म मात्र जारी रहने राष्ट्र बैंकले जनाएको छ ।

असर्फी तथा मेडालियन खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ ।

खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । असर्फी तथा मेडालियनको मूल्य भने बिक्री हुने दिन बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ । मूल्य निर्धारण भएपछि मात्र बिक्री सुरु हुनेछ । 

Share News