महालक्ष्मी विकास बैंकमार्फत यूनियनपे वालेटबाट नेपालमै क्यूआर भुक्तानी सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडमार्फत भुक्तानी स्वीकार गर्ने सुविधा सुरु गरेको छ ।

यो सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे प्लेटफर्ममार्फत लागू गरिएको हो । यससँगै यूनियनपे डिजिटल वालेट प्रयोगकर्ताले नेपालभर रहेका महालक्ष्मी विकास बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरूमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् ।

विशेषगरी चीनलगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूलाई यस सुविधाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले यात्राका क्रममा नगद बोक्नुपर्ने बाध्यता घटाउने बैंकको विश्वास छ ।

सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वकै ठूला भुक्तानी सेवा प्रदायकहरूमध्ये एक हो । यसले ९.६ अर्बभन्दा बढी कार्ड जारी गरिसकेको छ भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ ।

बैंकका अनुसार यस सेवाको सुरुवातसँगै नेपालमा उपलब्ध क्यूआर पूर्वाधार अझ प्रभावकारी बन्नेछ । साथै डिजिटल नवप्रवर्द्धनलाई सुरक्षित, प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।

यसैबीच, बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना सार्वजनिक गरेको छ । सोहीअनुसार 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एपमार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये गोलाप्रथाबाट तीन जनालाई आकर्षक भ्रमण प्याकेज प्रदान गर्ने योजना ल्याइएको छ ।

Share News