बैंक घोटालामा कर्मचारी पक्राउ

काठमाडौं । बैंकिङ कसूरसम्बन्धी बहुचर्चित किष्ट बैंक घोटाला प्रकरणमा फरार एक प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोहितलाल श्रेष्ठलाई पक्राउ गरेकाे हो । सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार तत्कालीन किष्ट बैंकका कर्मचारीले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी तथा नक्कली सुरक्षा गार्डसमेत प्रयोग गरी बैंकलाई झुक्क्याई आर्थिक हानि पुर्‍याएको घटनामा संलग्न प्रतिवादीलाई पक्राउ गरिएको हो । यस प्रकरणमा सर्वोच्च अदालतले २०८० असोज १५ गतेको फैसलाबाट २ वर्ष कैद र १३ लाख ३३ हजार ३३३ रुपैयाँ जरिवाना सजाय तोकेको थियो । उक्त सजायपछि फरार रहेका रोहितलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका-१, साङ्ला बस्ने ४८ वर्षीय श्रेष्ठ तत्कालीन किष्ट बैंक, ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत रही टेलर हेडको जिम्मेवारीमा थिए । प्रहरी टोलीले उनलाई २०८३ वैशाख ११ गते काठमाडौं महानगरपालिका-३, महाराजगञ्जबाट पक्राउ गरेको जनाएको छ । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।

स्प्रिङ मिटिङमा आईएमएफले भन्यो- नेपालको अर्थतन्त्रको दिशा सही छ

काठमाडौं । राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको स्प्रिङ मिटिङ–२०२६’ मा सहभागिता जनाएका छन् । उक्त बैठकमा उनले आईएमएफका उपप्रबन्ध निर्देशक बो लीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालको आर्थिक स्थिति र पश्चिम एसियामा जारी युद्धका कारण परेको प्रभावबारे छलफल गरे । लीले नेपालको मूल्य स्थिरता र वैदेशिक विनिमय सञ्चितिको अवस्था सन्तोषजनक रहेको भन्दै नेपाल राष्ट्र बैंकको कार्यको प्रशंसा ग‍रे ।  साथै उनीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतका कार्यक्रमको प्रगति र भावी योजनाबारे पनि गहन छलफल भएको थियो । भ्रमणका क्रममा गभर्नर पौडेलले कोषको एसिया प्रशान्त विभागका निर्देशक कृष्ण श्रीनिवासन र नेपालका लागि मिसन प्रमुख सरवत जहानसँग छुट्टाछुट्टै भेट गरी प्राविधिक सहयोगका विषयमा कुराकानी ग‍रे । त्यसैगरी, दक्षिण पूर्व एसियाली भोटिङ ग्रुप (एसईएभीजी) का कार्यकारी निर्देशकसँगको भेटमा वित्तीय क्षेत्रको सबलीकरण र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे छलफल भयो ।  सम्पत्ति शुद्धीकरण निवारणको क्षेत्रमा नेपालले गरिरहेको प्रयास र ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कने विषयमा उनले एपीजीका अधिकारी डेभिड शाननसँग समेत परामर्श गरेका थिए । त्यसैगरी, उनले मलेसियाको केन्द्रीय बैंकका गभर्नर अब्दुल रसिद गाफरसँगको भेटवार्ता गरे । उक्त भेटमा एआई र बिग डेटा उपयोगको सन्दर्भमा मलेसियाको अनुभव आदानप्रदान गर्ने र नेपाल राष्ट्र बैंकलाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त गरेका थिए ।  गभर्नर पौडेलले डलास र बोस्टनमा आयोजित विभिन्न कार्यक्रमहरूमा प्रमुख वक्ताको रूपमा सहभागी भई नेपालको लगानी सम्भावना र प्रविधिको भूमिकाबारे धारणा राख्नुका साथै विश्व बैंकद्वारा आयोजित ‘कार्यकारी मञ्च’मा समेत भाग लिए । भ्रमण टोलीमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेल र निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता रहेको थियो  ।

हिमालयन बैंक अब फोनेपेमा, लाखौं ग्राहकलाई क्यूआर भुक्तानी सुविधा

काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले हिमालयन बैंक लिमिटेडलाई औपचारिक रूपमा  नेटवर्कमा आबद्ध गरिएको घोषणा गरेको छ । यो साझेदारीलाई नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको एक अग्रणी संस्थासँग जोडेको छ । सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपालको प्रतिष्ठित निजी क्षेत्रीय बैंकका रूपमा परिचित छ । विश्वास, नवप्रवर्तन र वित्तीय नेतृत्वको पर्याय बनेको हिमालयन बैंक आधुनिक बैंकिङ सेवा नेपालमा भित्र्याउने अग्रणी संस्थामध्ये एक मानिन्छ । देशभर फैलिएको शाखा सञ्जाल र तीन दशकभन्दा बढी समयदेखि निर्माण भएको बलियो ग्राहक आधारका कारण हिमालयन बैंकको फोनेपे नेटवर्कमा एकीकरणले डिजिटल भुक्तानीको प्रयोगलाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ । यसबाट देशभरका लाखौं हिमालयन बैंकका ग्राहकहरूले सहज रूपमा क्यूआर-आधारित कारोबारको सुविधा प्राप्त गर्नेछन् । फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हिमालयन बैंकलाई नेटवर्कमा स्वागत गर्दै नेपालको डिजिटल भुक्तानी यात्रामा यो परिभाषित क्षण भएको बताए । उनले हिमालयन बैंकले नेपाली ग्राहकहरूसँग निर्माण गरेको गहिरो विश्वास र फोनेपेका २० लाखभन्दा बढी व्यापारी टचपोइन्टहरूको पहुँचले नगदरहित नेपालको लक्ष्यतर्फ अझ तीव्र गतिमा अघि बढ्न मद्दत गर्ने उल्लेख गरे । उनले देशको अग्रणी निजी बैंकका रूपमा हिमालयन बैंकले अनुपम विश्वसनीयता र पहुँच ल्याएको भन्दै अब डिजिटल भुक्तानीलाई देशको हरेक कुनामा र हरेक नेपालीसम्म पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे । हिमालयन बैंकले पनि फोनेपे नेटवर्कमा आबद्ध हुनु आफ्नो दीर्घकालीन वित्तीय नेतृत्वको स्वाभाविक विस्तार भएको जनाएको छ । बैंकका अनुसार अब ग्राहकहरूले अन्तरसञ्चालनयोग्य डिजिटल भुक्तानीका सम्पूर्ण फाइदा छिटो, सुरक्षित र सहज रूपमा अनुभव गर्न सक्नेछन् ।