काठमाडौं । बैंकिङ कसूरसम्बन्धी बहुचर्चित किष्ट बैंक घोटाला प्रकरणमा फरार एक प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोहितलाल श्रेष्ठलाई पक्राउ गरेकाे हो ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार तत्कालीन किष्ट बैंकका कर्मचारीले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी तथा नक्कली सुरक्षा गार्डसमेत प्रयोग गरी बैंकलाई झुक्क्याई आर्थिक हानि पुर्याएको घटनामा संलग्न प्रतिवादीलाई पक्राउ गरिएको हो ।
यस प्रकरणमा सर्वोच्च अदालतले २०८० असोज १५ गतेको फैसलाबाट २ वर्ष कैद र १३ लाख ३३ हजार ३३३ रुपैयाँ जरिवाना सजाय तोकेको थियो । उक्त सजायपछि फरार रहेका रोहितलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका-१, साङ्ला बस्ने ४८ वर्षीय श्रेष्ठ तत्कालीन किष्ट बैंक, ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत रही टेलर हेडको जिम्मेवारीमा थिए ।
प्रहरी टोलीले उनलाई २०८३ वैशाख ११ गते काठमाडौं महानगरपालिका-३, महाराजगञ्जबाट पक्राउ गरेको जनाएको छ । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।