सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ८९ करोड रुपैयाँ, लाभांश क्षमता १३.१९ प्रतिशत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ४६.६९ प्रतिशत बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५ करोड ७२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१ करोड ४६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४६ करोड ११ लाख रुपैयाँ र सञ्चालन नाफा ८८ करोड ४४ लाख रुपैयाँ थियो । गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३६ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा र १०.३६ प्रतिशत लाभांश क्षमता थियो । ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १६.९५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ रहेको छ। गत असारसम्म बैंकले ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षसम्म बैंकले ५४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्ष बैंकको निक्षेप ४ प्रतिशत अर्थात् २ अर्ब २६ करोड रुपैयाँ र कर्जा ७ प्रतिशत अर्थात् ३ अर्ब ५ करोड रुपैयाँ बढेको देखिन्छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा (एनपीएल) ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ ।
सातै प्रदेशलाई लक्षित गर्दै एनएमबि बैंकको ‘प्रदेश बचत खाता’ सार्वजनिक
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् । डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा तथा अन्य धेरै थप सुविधाहरू प्राप्त गर्नेछन् । यस बचत खाताको सुरुवातमार्फत एनएमबि बैंकले देशका सबै भागमा सहज, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्याउने आफ्नो लक्ष्यलाई अझ अगाडि बढाएको जनाएको छ । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ७ प्रतिशत ब्याज पाइने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमासाउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र प्रयाप्त आवेदन नपरे साउन २८ गतेसम्म समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।