बाढीमा कागजात गुमाएका ग्राहकले केवाईसी भिडाएर बैंकिङ कारोबार गर्न पाउने

काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै संस्थामा रहेको ग्राहकको जानकारी (केवाईसी) विवरणसँग भिडाएर ग्राहकको पहिचान पुष्टि भएपछि वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित ग्राहकको बैंकिङ सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणका आधारमा ग्राहक यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्नु,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

यस्तै, विपद्बाट प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

Share News