सानिमा बैंकको तिहार र छठ अफर : विभिन्न मर्चेन्टहरुमा मिठाई किन्दा क्यासब्याक र छुट
काठमाडौं । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् २०० सम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ । यो योजना २०८२ कार्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सिटिजन्स बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजका सेवामा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले काठमाडौं मेडिकल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकलाई लाभ मात्रै नभई नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमबाट भुक्तानी गर्न तथा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।