सबल कम्पनीको सेयरमा १० प्रतिशत थप मार्जिन लेण्डिङ सुविधा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय रूपमा सबल सूचीकृत कम्पनीहरूको सेयर धितोमा थप मार्जिन लेण्डिङ सुविधा दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको निर्देशनअनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको वित्तीय तथा संस्थागत सबलताको आधारमा सेयर धितो कर्जाको कर्जा मूल्य (लोन टू भ्यालू) अनुपातमा अधिकतम १० प्रतिशत विन्दुसम्म थप गर्न सकिने व्यवस्था गरेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले आफ्नै ‘प्रडक्ट पेपर’ तयार गरी सूचीकृत कम्पनीहरूको सबलता मूल्याङ्कन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ । मूल्याङ्कनका आधारमा उच्च अंक प्राप्त गर्ने कम्पनीहरूको सेयरमा निर्धारित सीमा भन्दा बढीमा १० प्रतिशत विन्दुसम्म अतिरिक्त कर्जा सुविधा दिन सकिनेछ । राष्ट्र बैंकका अनुसार कम्पनीको सबलता मूल्याङ्कन गर्दा कम्तीमा चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, निरन्तर नाफा आर्जन तथा लाभांश वितरणको अवस्था र अवधि, क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना तथा नियमित वार्षिक साधारणसभा सम्पन्न भएको वा नभएको अवस्थालाई आधार बनाउनुपर्नेछ । यस्तै, बैंक तथा वित्तीय संस्थाले तयार गरेको उक्त प्रडक्ट पेपर आफ्नो आधिकारिक वेबसाइटमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले एकपटक सेयर धितोमा कर्जा प्रवाह गरिसकेपछि धितोमा रहेको सेयरको पुनर्मूल्याङ्कनका आधारमा थप कर्जा सीमा निर्धारण गर्न वा थप कर्जा प्रवाह गर्न भने नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै निक्षेप संकलनका लागि बोलकबोल जारी गरेको हो ।  सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोल गर्दा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने  छ ।  

रक्त परीक्षण सेवाका लागि रेडक्रसलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन वटा जैविक सूक्ष्मदर्शी (बायोलोजिकल माइक्रोस्कोप) हस्तान्तरण गरेको छ । बैंकका अनुसार उक्त उपकरणले नेपाल रेडक्रस सोसाइटीको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने अभियानलाई सहयोग पुग्नेछ । माइक्रोस्कोपको प्रयोगबाट रगतमा रहेका राता रक्तकण, सेता रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यता पहिचान गर्न सहज हुने जनाइएको छ । यसका साथै रगतको उपयुक्तता परीक्षण, रगत सङ्कलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन पनि उपकरणले महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय र भरपर्दो रक्तसञ्चार सेवा सुदृढ गर्न तथा सार्वजनिक स्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।