राष्ट्रिय वाणिज्य बैंकको नाममा हुने ठगीबाट सावधान रहन ग्राहकलाई आग्रह
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम दुरुपयोग गरेर भइरहेका ठगीका प्रयासप्रति सचेत रहन ग्राहकलाई आग्रह गरेको छ । बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा केही अनधिकृत व्यक्ति तथा ठगी गिरोहले बैंकको नाममा ग्राहकलाई फोन गरी ‘केवाईसी अपडेट’ गर्नुपर्ने भन्दै व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, ओटीपी माग्ने, स्क्रिन सेयर गर्न लगाउने, अनधिकृत एप डाउनलोड गराउने तथा फिसिङ लिंक पठाएर क्लिक गर्न लगाउनेजस्ता गतिविधि गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ । बैंकका अनुसार कुनै पनि कर्मचारी वा आधिकारिक प्रतिनिधिले केवाईसी अपडेट वा अन्य कुनै प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट एटीएम पिन, मोबाइल बैंकिङ तथा ई–बैंकिङको ओटीपी, इमेल पासवर्ड वा अन्य गोप्य व्यक्तिगत विवरण कहिल्यै नमाग्ने स्पष्ट गरेको छ । यस्ता फोन, इमेल वा सामाजिक सञ्जालमार्फत आउने सन्देशमा विश्वास नगर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको शाखा वा बैंकका आधिकारिक सम्पर्क नम्बरमा मात्र जानकारी गराउन बैंकले ग्राहकलाई अनुरोध गरेको छ । साथै बैंकको आधिकारिक वेबसाइटमार्फत प्रकाशित सूचना मात्र विश्वास गर्न पनि आग्रह गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकले सुरक्षित बैंकिङ कारोबारका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै साइबर ठगीविरुद्ध सचेत र सजग रहन सम्पूर्ण ग्राहकलाई आह्वान गरेको छ ।
त्रिपुरेश्वर विद्यालयमा कामना सेवाको सहयोग, पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले सुर्खेतको वीरेन्द्रनगर–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा डिप बोरिङ प्रणालीमार्फत खानेपानीको आपूर्ति भए पनि पानी शुद्धीकरणको व्यवस्था नहुँदा विद्यार्थी र शिक्षकले स्वच्छ खानेपानी उपभोग गर्न कठिनाइ हुँदै आएको थियो । सोही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर उपलब्ध गराएको जनाएको छ । कार्यक्रममा वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकको सहयोगबाट विद्यार्थी र शिक्षकले स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गर्दै यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने बताए । बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगमूलक कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
महालक्ष्मी विकास बैंकको कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवालाई थप आधुनिक र ग्राहकमैत्री बनाउने उद्देश्यका साथ काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार आयोजित एक कार्यक्रमबीच काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित डिजिटल हबको औपचारिक उद्घाटन गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले डिजिटल हबसहितको कार्यालय भवनको संयुक्त उद्घाटन गरेका थिए। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई सुरक्षित, प्रविधिमैत्री र अझ प्रभावकारी बनाउने रणनीतिअनुसार डिजिटल हबमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको हो । यसमार्फत ग्राहकहरूले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, नगद झिक्ने, चेक क्लियरिङ गर्ने तथा विभिन्न विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् । बैंकले नेपालको बैंकिङ क्षेत्रमा कफी लाउञ्जसहितको यस्तो अवधारणा सम्भवतः पहिलो पटक कार्यान्वयन गरिएको दाबी गरेको छ । यसले बैंकिङ सेवालाई सहज र फरक अनुभव प्रदान गर्ने विश्वास बैंकको छ । युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने तथा ग्राहकबीच डिजिटल सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको डिजिटल हबमार्फत डिजिटल बैंकिङसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइने बैंकले जनाएको छ । यसले ग्राहकका लागि सिकाइ र अनुभवको केन्द्रका रूपमा समेत काम गर्ने अपेक्षा गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकको रेगुलेटरी स्यान्डबक्स अवधारणालाई समेत आत्मसात गर्दै भविष्यमा वित्तीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र ग्राहकलाई नवीन वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।