५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
खाता अन्य बैंकमा, भुक्तानी सिटिजन्स बैंकमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर क्युआर’ प्रणालीको सुरुवात गरेको छ । यस सेवामार्फत अन्य बैंकका ग्राहकहरूले पनि नजिकैको सिटिजन्स बैंक शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङ प्रयोग गरेर क्रस बैंक टेलर क्युआर स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो प्रविधिले भुक्तानी प्रक्रिया अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको छ । नयाँ प्रणालीले डिजिटल भुक्तानीको दायरा विस्तार गर्दै ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच र समयको बचत गराउने विश्वास सिटिजन्स बैंकले व्यक्त गरेको छ ।
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश घोषणा गरेको छ । बैंककाे सञ्चालक समिति असोज २५ गते बसेकाे बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत र आर्थिक वर्ष २०६८/६९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।