डिजिटल बैंकिङदेखि वित्तीय साक्षरतासम्म सिटिजन्स बैंकको अभियान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार देशभर रहेका आफ्ना १४८ शाखामार्फत महिला, विद्यार्थी, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य समुदायलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो । यसबाट करिब १० हजार जनाले वित्तीय ज्ञान प्राप्त गरेका बैंकले जनाएको छ । कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, बैंकिङ कारोबारमा अपनाउनुपर्ने सावधानी तथा साइबर जोखिम न्यूनीकरणका विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थालाई सहयोगसमेत गरेको जनाएको छ । यसअन्तर्गत सुर्खेतको साक्रेगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका १९६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरिएको छ । सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ लगायतका नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जीवनकुमार कटुवालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार अबदेखि राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सञ्चय कोषलगायत अवकाश कोषहरूको व्यवस्थापन कर्मचारी सञ्चय कोषले गर्नेछ । हाल बैंकमा दुई हजार ९५५ कर्मचारी कार्यरत छन् । पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१६ शाखामार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

विद्युतीय सार्वजनिक बस किन्दा ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा प्रयोग हुने ठूला विद्युतीय बस खरिदका लागि अधिकतम ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार सार्वजनिक यात्रुबाहक ठूला विद्युतीय सवारी साधन खरिद गर्दा ऋण-मूल्य अनुपात (लोन टू भ्यालू) अधिकतम ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ ।  यही सुविधा जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानका व्यावसायिक सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा पनि लागू हुनेछ । अन्य सवारी साधन खरिदका लागि भने बैंक तथा वित्तीय संस्थाले अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण प्रवाह गर्न पाउनेछन् ।