काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार भदौ १४ गते बसेको सञ्चालक समितिको ५०६औँ बैठकले अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा अर्याललाई अध्यक्ष चयन गरेको हो ।
बैंकका अनुसार प्रचण्डबहादुर श्रेष्ठको राजीनामा भदौ १४ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको छ । त्यसपछि संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड का प्रतिनिधि सञ्चालक वैकुण्ठ अर्याललाई सोही मितिदेखि लागू हुने गरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरिएको हो ।
हिमालयन बैंकले नयाँ अध्यक्षको नियुक्तिसम्बन्धी निर्णय नेप्सेमार्फत सार्वजनिक गरेको जनाएको छ ।