बाढी प्रभावितका लागि एडीबीले ७६ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालका बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर (करिब ७६ करोड ५९ लाख रुपैयाँ) अनुदान दिने भएको छ ।

यो रकम तत्काल उद्धार तथा राहतमा खर्च हुने जनाएको छ । अनुदानबाट खोज तथा उद्धारका सामग्री खरिद गरिनेछ । औषधि, खाद्यान्न र सुरक्षित खानेपानीको व्यवस्था गरिनेछ ।

त्यस्तै, अस्थायी आश्रय, सरसफाइ तथा स्वच्छताका सामग्री उपलब्ध गराइनेछ । भग्नावशेष हटाउन र आपत्कालीन पूर्वाधार स्थिरीकरणमा पनि रकम खर्च हुनेछ ।

एडिबीले थप १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब २ करोड ३० लाख रुपैयाँसम्म उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

यो रकम विपद्पछिको आवश्यकता मूल्यांकन, पुनःस्थापना योजना र सम्भावित पुनर्निर्माणका लागि प्रयोग हुने बताइएको छ ।

एडिबीका अनुसार मूल्यांकनबाट बाढीबाट भएको क्षति र नोक्सानी पहिचान गरिनेछ । प्रभावित क्षेत्रका आवश्यकता र पुनःस्थापनाका प्राथमिकता पनि तय गरिने उल्लेख छ ।

एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारसँग समन्वय गरिरहेको जनाएको छ ।

एडिबी अध्यक्ष मासातो कान्डाले विपद्पीडितलाई तत्काल सहयोग आवश्यक रहेको बताएका छन् । उनले खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधिजस्ता आधारभूत सहयोगमा अनुदान उपयोग हुने बताएका छन् ।

अगस्ट २६ (भदौ १० गते) भोटेकोसी र त्रिशूली नदी प्रणालीमा आएको बाढी र गेग्रान बहावले ठूलो क्षति गरेको छ ।

Share News