राष्ट्रिय सहकारी बैंकले बाढीपीडित सहकारीका लागि २० लाख दिने

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघसंस्थाको सेवा पुनः सञ्चालन र पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढीपहिरोबाट सहकारी संस्थाका कार्यालय, अभिलेख, प्रविधि तथा भौतिक संरचनामा क्षति पुगेको बैंकले जनाएको छ ।

क्षतिग्रस्त सहकारी संस्थालाई सेवा सञ्चालनमा सहयोग गर्न उक्त रकम छुट्याइएको हो । रकम सम्बन्धित जिल्ला सहकारी संघसँगको समन्वयमा बैंकले तोकेको मापदण्डअनुसार वितरण गरिनेछ ।

यसैगरी, बाढीपहिरोबाट नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । केही कर्मचारीका आफन्तसमेत सम्पर्कविहीन रहेको बैंकले जनाएको छ ।

प्रभावित कर्मचारीलाई सहयोग गर्न बैंकका कर्मचारीले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन् । संकलित रकमबाट प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत दिइएको छ ।

बैंकका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यले पनि एक दिनको बैठक भत्ता सहयोग गर्ने भएका छन् । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ ।

बैंकले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

बैंकले प्रभावित सहकारी संस्थाको सेवा निरन्तरता, पुनःस्थापना र संस्थागत सुधारका लागि आवश्यक वित्तीय, प्राविधिक तथा अन्य सहयोग जारी राख्ने जनाएको छ ।

Share News