मुक्तिनाथ विकास बैंकले ढुवानी व्यवसायीलाई गाडी किन्न सहुलियत कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई गाडी खरिद तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार महासंघमा आबद्ध सदस्यले ढुवानी व्यवसायका लागि आवश्यक पर्ने जुनसुकै ब्रान्डका गाडी खरिद गर्न बैंकबाट कर्जा लिन सक्नेछन् । व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा सुविधासमेत बैंकले उपलब्ध गराउनेछ ।

बैंकले आफ्ना १७६ वटै शाखामार्फत आकर्षक सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । यसबाट ढुवानी व्यवसायीलाई गाडी खरिद गर्न र व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

बैंकले हाल अटो कर्जा, कृषि कर्जा र एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने विशेष अफर ल्याएको जनाएको छ । सम्झौता भदौ १७ गते भएको हो ।

Share News