मितेरी डेभलपमेन्ट बैंकको नाफा १४ करोड नाघ्यो, लाभांश क्षमता १२.७३ प्रतिशत

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ८.९८ प्रतिशत घटेर १४ करोड १२ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ करोड ९५ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५०.२६ प्रतिशत बढेर ३० करोड ७४ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले २० करोड ४५ लाख ९४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ७२ लाख ३६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५ करोड ९ लाख ४७ हजार रुपैयाँ र सञ्चालन नाफा २० करोड १७ लाख ४१ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ३२ लाख ११ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१ करोड १ लाख ६८ हजार रुपैयाँ र सञ्चालन नाफा १८ करोड ५७ लाख ८ हजार रुपैयाँ थियो ।  बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.७३ प्रतिशत रहेको छ ।  १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८ लाख ४१ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.६५ रुपैयाँबाट बढेर ११.६० रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ५०.१६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४३.२ रुपैयाँ रहेको छ ।   गत असारसम्म बैंकको निक्षेप ३६ प्रतिशत बढेर ८ अर्ब ८५ करोड ३७ लाख ७२ हजार रुपैयाँ र कर्जा २९.२५ प्रतिशत बढेर ६ अर्ब ६९ करोड २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  अघिल्लो वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.२६ प्रतिशतमा झारेको छ । 

अब नेपालमा भारू २ सय र ५ सयका नोट चल्ने, बैंकले पनि सहजै साट्ने

काठमाडौं । अब नेपालमा भारतीय रुपैयाँ (भा.रू.) २ सय र ५ सय दरका नोट बैंकिङ प्रणालीमार्फत पनि सटही गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै यस सम्बन्धी व्यवस्था स्पष्ट गरेको हो ।  राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ देखि जारी भई चलनचल्तीमा रहेका भा.रू. २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म प्रचलित व्यवस्था बमोजिम नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन् ।  यसअघि नेपाल राजपत्रमा भा.रू. २०० र ५०० दरका नोट नेपालमा चलाउन सकिने व्यवस्था भए पनि बैंकिङ प्रणालीमा सटहीसम्बन्धी स्पष्ट निर्देशिका थिएन । राष्ट्र बैंकले परिपत्र संशोधनमार्फत सोही व्यवस्थालाई कार्यान्वयनमा स्पष्टता दिएको हो । यसअघि सन् २०१६ नोभेम्बर ९ देखि निष्काशन रहेका भारतीय २००, ५०० र २००० दरका नोटको कारोबार पूर्ण रूपमा निषेध थियो । साथै, बैंकिङ प्रणालीमार्फत उक्त दरका नोट सटहीसम्बन्धी स्पष्ट व्यवस्था नभएकाले व्यवहारमा अन्योल देखिएको थियो ।  राष्ट्र बैंकले नयाँ परिपत्रमार्फत उक्त व्यवस्था स्पष्ट पारेपछि अब भा.रू. २०० र ५०० दरका नोट नेपालका बैंक तथा नेपाल राष्ट्र बैंकमार्फत सहज रूपमा सटही गर्न सकिने भएको छ । यद्यपि, भारतीय २ हजार दरका नोटको कारोबार तथा सटही गर्न नपाइने व्यवस्था भने यथावत रहेको जनाएकाे छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच सम्झौता भएको बैंकले जनाएको छ । सम्झौताअनुसार बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार यो सहकार्यले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । यस सम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।