काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ऊर्जा तथा जलविद्युत् क्षेत्रमा ८.८२ प्रतिशत अर्थात् ४० अर्ब ८४ करोड ८० लाख रुपैयाँ थप कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरूको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कुल कर्जा लगानी ५ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म बैंकहरूको उक्त क्षेत्रमा ४ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी रहेको थियो ।
गत असार मसान्तसम्म ऊर्जा तथा जलविद्युत् क्षेत्रमा सबैभन्दा धेरै कर्जा लगानी नबिल बैंकको रहेको छ । नबिल बैंकको कर्जा लगानी १३.२८ प्रतिशत अर्थात् ६ अर्ब २७ करोड ९८ लाख रुपैयाँले बढेर ५३ अर्ब ५३ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो लगानी ४७ अर्ब २५ करोड २४ लाख रुपैयाँ थियो ।
कर्जा लगानी वृद्धिका आधारमा भने कुमारी बैंक अगाडि रहेको छ । बैंकको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कर्जा लगानी ३१.१९ प्रतिशत अर्थात् १२ अर्ब ५० करोड रुपैयाँले बढेर ५२ अर्ब ६० करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कुमारी बैंकको यस्तो लगानी ४० अर्ब ९ करोड ४२ लाख रुपैयाँ थियो ।
यस्तै, एभरेष्ट बैंकको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कर्जा लगानी २७.४६ प्रतिशतले बढेर २७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । कृषि विकास बैंकको २४.३१ प्रतिशतले बढेर १३ अर्ब ७६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.४५ प्रतिशतले बढेर ३४ अर्ब ११ करोड रुपैयाँ, सानिमा बैंकको १२.८२ प्रतिशतले बढेर ३० अर्ब ४४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १२.११ प्रतिशतले बढेर २२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
नेपाल एसबिआई बैंकको कर्जा लगानी १०.६७ प्रतिशतले बढेर ११ अर्ब ७२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ९.६० प्रतिशतले बढेर १६ अर्ब ३१ करोड रुपैयाँ, सिटिजन्स बैंकको ९.२१ प्रतिशतले बढेर २४ अर्ब १६ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.४९ प्रतिशतले बढेर ३६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कर्जा लगानी ६.८० प्रतिशतले बढेर २७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। एनआईसी एशिया बैंकको ६.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३.८७ प्रतिशतले बढेर ३२ अर्ब ९ करोड रुपैयाँ, नेपाल बैंकको २.०१ प्रतिशतले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ र प्राइम बैंकको ०.२० प्रतिशतले बढेर २६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
अधिकांश बैंकले ऊर्जा तथा जलविद्युत् क्षेत्रमा कर्जा लगानी बढाए पनि चार बैंकको लगानी भने घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लगानी ३२.५५ प्रतिशतले घटेर ५ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, हिमालयन बैंकको कर्जा लगानी १६.२६ प्रतिशतले घटेर १८ अर्ब २४ करोड रुपैयाँ, एनएमबि बैंकको २.७८ प्रतिशतले घटेर ३० अर्ब ६७ करोड रुपैयाँ र प्रभु बैंकको २.५० प्रतिशतले घटेर १९ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ ।
