महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग प्रदान गरेको छ । 

उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, देवीघाट लगायतका स्थानहरूमा अकल्पनीय र अत्याधिक मात्रामा जनधनको क्षति पुर्याएको छ । 

यस विषम परिस्थितिको सामना गर्नका लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरूको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत जोडेर सो रकम सहयोग गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विपत्तिको यस कठिन घडीमा जीवन गुमाएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । महालक्ष्मी विकास बैंकले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनस्थापनाको लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरूबाट भइरहेका प्रयासहरूमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News