एनआईसी एसिया बैंकका ३ शाखाका लकर स्थानान्तरण हुँदै

काठमाडौं । एनआईसी एसिया बैंकले डिल्लीबजार, लाजिम्पाट र क्षेत्रपाटी शाखामा रहेका सेफ डिपोजिट लकर अन्य शाखामा स्थानान्तरण गर्ने भएको छ । 

बैंकका अनुसार यी तीन शाखा आगामी मंसिर ७ गतेदेखि अन्य शाखामा गाभिएर एकीकृत रूपमा कारोबार सञ्चालन गर्नेछन् । शाखा समायोजनपछि बन्द हुने भएकाले त्यहाँ रहेका सेफ डिपोजिट लकरसमेत स्थानान्तरण गर्न लागिएको हो ।

डिल्लीबजार शाखामा रहेका लकर कमलादी शाखामा र लाजिम्पाट शाखाका लकर पनि कमलादी शाखामै स्थानान्तरण हुनेछन् । त्यस्तै, क्षेत्रपाटी शाखाका लकर त्रिपुरेश्वर शाखामा स्थानान्तरण गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार डिल्लीबजारबाट कमलादी शाखाको दूरी करिब १.४ किलोमिटर, लाजिम्पाटबाट कमलादी २.५ किलोमिटर र क्षेत्रपाटीबाट त्रिपुरेश्वर शाखाको दूरी २.९ किलोमिटर रहेको  छ।

बैंकले लकरमा टुटफुट हुन सक्ने सामान राखेका ग्राहकलाई आफ्नो लकर रहेको हालको शाखामा सम्पर्क गरी सामान सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ । बैंकले लकर स्थानान्तरणका क्रममा लकरभित्र रहेका सामग्रीमा सम्भावित हानि, नोक्सानी वा क्षति भएमा बैंक जिम्मेवार नहुने जनाएको छ । 

Share News