नेपाल एसबीआई बैंक चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड भारतीय उद्योग परिसंघ (इन्डियन चेम्बर अफ कमर्स–आईसीसी)द्वारा प्रदान गरिने चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट परफर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट परफर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ । यी अवार्ड भारतको नयाँदिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड्स–२०२६ समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतीवडाले ग्रहण गरेका थिए । बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङ, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा साना, घरेलु तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धनमा बैंकले गरेको योगदानको अन्तर्राष्ट्रिय स्तरमा मूल्याङ्कन भएको पुष्टि गरेको छ । अवार्ड प्राप्तिपछि बैंकले आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवालाई अझ प्रभावकारी बनाउँदै मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ । नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
सानिमा बैंकको नाफा साढे ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ रुपैयाँ
काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आव २०८१/८२ मा बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत बढेर ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकले १ अर्ब ३२ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ९ अर्ब ७३ करोड २३ लाख १४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । समीक्षा वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २०.८५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँ वितरणयोग्य नाफा थियो भने १५.४८ प्रतिशत लाभांश क्षमता । १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ११ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रुपैयाँ र कर्जा प्रवाह १० प्रतिशत बढेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो असारसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा वर्षमा बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८०.७७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा अनुपात ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा १.२० प्रतिशतबाट १.०२ प्रतिशतमा सीमित रहेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १३.५९ गुणा रहेको छ । इक्विटीमा प्रतिफल १४.३९ प्रतिशत कायम भएको छ ।
इन्डियन चेम्बर अफ कमर्सबाट महालक्ष्मी विकास बैंक सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्सबाट ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ । बैंकले ग्राहकलाई आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको योगदानको कदरस्वरूप उक्त सम्मान पाएको हो । भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । सम्मानले अन्तर्राष्ट्रिय स्तरमा बैंकको पहिचान अझ सुदृढ हुने विश्वास बैंकले व्यक्त गरेको छ । कार्यक्रममा भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो । डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यासमा उत्कृष्ट कार्य गरेबापत बैंकलाई यो अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । गत वर्ष पनि बैंकले ‘एसेट्स क्वालिटी’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको थियो । साथै ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात गर्दै गुणस्तरीय वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ । हालै बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ ।