काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषिकर्जा सुरक्षण योजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपछि काभ्रेपलाञ्चोक, जुम्ला, सुर्खेत, बाजुरा र कैलालीका ९ स्थानीय तहमा कृषिकर्जा सुरक्षण योजना सञ्चालन गरिने भएको छ ।
भदौ १८ गते टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत डिला राम गिरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराको बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिकामा योजना सञ्चालन हुनेछ ।
योजनाअन्तर्गत दुई वर्षसम्म प्रत्येक स्थानीय तहमा ८ करोड रुपैयाँका दरले कुल १६ करोड रुपैयाँसम्म कृषिकर्जा लगानी गरिने व्यवस्था गरिएको छ । योजनामा प्रतिग्राहक न्यूनतम २ लाख ५० हजारदेखि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ भने कर्जाको अवधि सात वर्षसम्म रहनेछ ।
समझदारीपत्रअनुसार कर्जाको सुरक्षणका लागि ३० करोड रुपैयाँको सुरक्षण कोष स्थापना गरिनेछ । यसमा निक्षेप तथा कर्जा सुरक्षण कोषले १० करोड ५० लाख रुपैयाँ, ९ स्थानीय तहले प्रतितह ५० लाख रुपैयाँका दरले कुल ४ करोड ५० लाख रुपैयाँ र संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषमार्फत प्राप्त संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी संयुक्त कोषले १५ करोड रुपैयाँ योगदान गर्नेछ ।
दुवै संस्थाले योजनाले कृषि उद्यमशीलता विकास, उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रको दिगो तथा उत्थानशील विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
समझदारी कार्यक्रममा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रबन्धक विक्रान्त आचार्य, राष्ट्रिय वाणिज्य बैंकको कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख विश्वप्रकाश ज्ञवाली, उपप्रबन्धक राजन घिमिरेलगायत दुवै संस्थाका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म फैलिएका ३१६ शाखा कार्यालय र ३३५ एटिएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, मोबाइल बैंकिङ तथा अन्य डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।