बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारको तरलता व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँ दुई महिनाका लागि निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै ६० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत रकम उठाउन बोलकबोल आह्वान गरेको हो ।

सूचनाअनुसार बोलकबोल भदौ २२ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । निक्षेप संकलनको निष्कासन पनि सोही दिन हुनेछ भने साँवा र ब्याज कात्तिक २० गते भुक्तानी गरिनेछ ।

बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडले भाग जाने रकमका लागि आवेदन दिन सक्नेछन् । ब्याजदर भने बोलकबोलबाट निर्धारण हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकले कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिएर रकम बाँडफाँट गर्ने जनाएको छ। आवश्यक परे आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार पनि राष्ट्र बैंकसँग रहनेछ ।

यो निक्षेप संकलन उपकरणको रकम बीचमै फिर्ता नहुने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Share News