ऋणी खोज्दै अफिस-अफिसमा बैंकर
काठमाडौं । ‘ब्रोकर कम्पनीको कार्यालयमा दैनिक ४-५ जना बैंकका म्यानेजर आउनुहुन्छ । राम्रा ग्राहक भए कर्जा लिन पठाइदिनुस्, मार्जिन ट्रेडिङका लागि तपाईहरुलाई पनि कर्जा उपलब्ध गराउँछौँ भन्नुहुन्छ । कुनै बेला हामीले मार्जिन लेन्डिङका लागि अनुरोध गर्दा बैंकहरूले खासै चासो देखाउँदैनथे । अहिले भने बैंकका म्यानेजरहरू नै अनुरोध गरिरहनुभएको छ, तर हामीसँग पठाउने क्लाइन्ट छैनन्,’ विकास वहसमा इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४५) का अध्यक्ष तथा स्टक ब्रोकर एशोसिएसन अफ नेपालका महासचिव भक्तिराम घिमिरेले भने । ब्रोकर व्यवसायी घिमिरेले भनेजस्तै केही वर्षअघिसम्म ऋण लिन बैंकका शाखा कार्यालय धाउनुपर्थ्याे । व्यवसायीदेखि सेयर लगानीकर्तासम्म बैंकको ढोका धाइरहेका हुन्थे । तर, अहिले दृश्य फेरिएको छ । बैंकमा पैसा प्रशस्त छ तर योग्य ऋणीको अभाव । त्यसैले बैंकरहरू आफैं कार्यालय-कार्यालय पुगेर ‘कर्जा लिनुहोस्’ भन्दै ग्राहक खोजिरहेका छन् । अहिले सबै बैंकको साझा चुनौती भनेकै कर्जा विस्तार हो । त्यसैले बैंकहरू विशेषगरी रिटेल, होम लोन, हायर पर्चेज, स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) र लोन अगेन्स्ट सेयरमा केन्द्रित हुन थालेका छन् । सेयर बजार अहिले कमजोर भए पनि लगानीकर्ताले भविष्यमा बजार बढ्ने अपेक्षासहित लगानीको अवसर खोजिरहेका छन् । यही कारण बैंकहरूले पनि मार्जिन लेन्डिङ र लोन अगेन्स्ट सेयरलाई प्राथमिकतामा राखेका हुन सक्ने बैंकरहरुको भनाइ छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार पछिल्लो समय बैंकहरू आफैं व्यवसायी र सम्भावित ग्राहकसम्म पुगेर कर्जा लिन आग्रह गरिरहेका छन् । विशेषगरी परियोजना (प्रोजेक्ट) कर्जाका लागि बैंकहरू निकै सक्रिय देखिएका छन् । ‘परियोजना कर्जा आवश्यकताअनुसार मात्रै लिइने भएकाले बैंकले आग्रह गर्दैमा कर्जा लिने अवस्था हुँदैन । परियोजना अघि बढाउने र बिक्री सुरु भएपछि मात्रै आवश्यकताअनुसार कर्जा लिइन्छ । कर्जा लिएर त्यसै राख्ने कुरा हुँदैन,’ उनले भने । व्यक्तिगत कर्जामा भने आम्दानीको स्रोत पुष्टि गर्नुपर्ने कडा मापदण्ड यथावत् रहेकाले कर्जाकोे माग हुन नसकेको उनको भनाइ छ । ‘व्यक्तिगत आवास तथा घरजग्गा कर्जामा मुख्य बाधा आम्दानीको स्रोत पुष्टि गर्ने व्यवस्था बनेको छ । घर वा जग्गा खरिद गर्न चाहने व्यक्तिले पर्याप्त आय देखाउन नसके कर्जा नपाउने अवस्था छ । यदि व्यक्तिगत कर्जाका लागि आयसम्बन्धी मापदण्ड केही सहज बनाइए घरजग्गा कारोबारसँगै बैंकको कर्जा प्रवाह पनि उल्लेख्य रूपमा बढ्न सक्छ,’ उनले भने । उनले बैंक तथा वित्तीय संस्थाका अधिकारीसँगको भेटघाटमा पनि सम्भावित ग्राहक सिफारिस गरिदिन आग्रह बारम्बार आउने गरेको बताए । ‘बैंकहरूले राम्रो ग्राहक भए पठाइदिनुस्, सहयोग गरिदिनुस् भन्ने अनुरोध गरिरहेका छन् । पछिल्लो समय बैंकहरू योग्य ऋणी खोज्न सक्रिय रूपमा बजारमा दौडिरहनु भएको छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन रेग्मीका अनुसार बैंकहरूले विभिन्न क्षेत्रका सम्भावित ग्राहकसँग प्रत्यक्ष सम्पर्क गरी आफ्ना कर्जा तथा वित्तीय सेवा प्रवद्र्धन गर्नु नियमित व्यावसायिक अभ्यास हो । मार्जिन लेन्डिङको नयाँ व्यवस्था लागू भएपछि सोहीअनुसार ब्रोकर कम्पनीहरूसँग पनि बैंकहरूको सम्पर्क बढेको र कर्जा विस्तारको सम्भावना रहेको उनले बताए । ‘आवश्यकता परे हामी कर्जा उपलब्ध गराउन तयार छौं भन्ने सन्देश दिन पनि बैंकहरू ब्रोकर कम्पनीसम्म पुगेका हुन सक्छन्,’ उनले भने । उनका अनुसार सरकारले बजेटमार्फत प्राथमिकतामा राखेका क्षेत्रलाई राष्ट्र बैंकले पनि नीतिगत रूपमा प्राथमिकता दिन्छ । त्यसैअनुसार बैंकहरूले वार्षिक व्यवसायिक योजना तयार गरी लक्षित क्षेत्रका सम्भावित ग्राहकसँग छलफल र सम्पर्क बढाउने गर्छन् । जलविद्युत् क्षेत्रमा लगानीलाई प्राथमिकता दिइए त्यस क्षेत्रका प्रवद्र्धक र व्यवसायीसँग, निर्माण क्षेत्रलाई प्राथमिकता दिइए ठेकेदार र उनीहरूका संगठनसँग तथा उद्योगी–व्यवसायीका फोरममा पुगेर बैंकहरूले आफ्ना कर्जा उत्पादनबारे जानकारी दिने गरेको रेग्मीले बताए । डीसीईओ रेग्मीका अनुसार बैंकहरूले आधारदर, प्रिमियम, धितोको मापदण्ड, सेवा दिने समयलगायतका विषयमा जानकारी दिँदै विभिन्न फोरम, भेटघाट तथा सञ्चारमाध्यममार्फत आफ्ना उत्पादनको प्रचार–प्रसार गरिरहेका छन् । उनले बैंकभित्र कर्मचारी परिचालनको प्राथमिकता पनि तरलताको अवस्थाअनुसार परिवर्तन हुने बताए । निक्षेप अभाव वा तरलता संकटका बेला कर्मचारीलाई निक्षेप संकलन र मार्केटिङमा केन्द्रित गरिने भए पनि अहिले निक्षेप पर्याप्त भएकाले त्यही जनशक्तिलाई कर्जा विस्तार र व्यवसाय प्रवर्द्धनतर्फ परिचालन भइरहेको उनको भनाइ छ । माछापुच्छ्रे बैंकका डीसीईओ सुभाष जमरकट्टेलले अहिले बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेकाले ठूला परियोजनामा लगानी बढाउने रणनीति बनाइएको छ । साथै रिटेल कर्जा, साना तथा मझौला उद्यम (एसएमई) र सहरी क्षेत्रबाहिर रहेका शाखामार्फत व्यवसाय विस्तार गर्ने योजना पनि अघि बढाइएको छ । तर, बैंकहरूले अपेक्षा गरेअनुसार नयाँ कर्जाको माग भने अझै आउन नसकेको उनको भनाइ छ । उनका अनुसार बैंकहरू नै सम्भावित ऋणी खोज्दै कार्यालय–कार्यालय पुगेर आफ्ना कर्जा उत्पादनबारे जानकारी गराइरहेका छन् । तर, सम्भावित ग्राहकसम्म पुग्नु मात्रै पर्याप्त नहुने उनको भनाइ छ । कर्जा लिन चाहने व्यक्ति वा संस्थाको वित्तीय विवरण, कारोबार, ब्यालेन्ससिट, टर्नओभर र भुक्तानी क्षमता पनि बलियो हुनुपर्ने उनी बताउँछन् । त्यससँगै बैंकको पुँजी तथा कर्जा विस्तार गर्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ । ‘बजार माग र आपूर्तिको सिद्धान्तअनुसार चल्ने हो । बैंकहरू बजारमा गएर मात्रै कर्जा विस्तार सम्भव हुँदैन । अर्थतन्त्रमा समग्र गतिविधि बढेपछि मात्रै स्वाभाविक रूपमा कर्जाको माग सिर्जना हुने हो । अहिले अर्थतन्त्र सुस्त रहेकाले त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको कर्जा विस्तारमा परेको छ,’ उनले भने, ‘ठूलो स्तरको विज्ञापन वा आक्रामक मार्केटिङले पनि कर्जा विस्तारमा उल्लेखनीय प्रभाव पार्दैछ । त्यसबाट एउटा बैंकको ग्राहक अर्को बैंकमा सर्ने अवस्था आउन सक्छ, तर समग्र कर्जा वृद्धि भने अर्थतन्त्रमा नयाँ माग सिर्जना भए मात्रै सम्भव हुने हो ।’ उनले विगतमा जस्तो कर्जा बढाउन अस्वस्थ प्रतिस्पर्धा गर्ने अवस्था अहिले नरहेको स्पष्ट पारे । अहिले बैंकहरूले सबै आवश्यक कागजात, धितो, वित्तीय विवरण र भुक्तानी क्षमताको आधारमा मात्रै कर्जा प्रवाह गरिरहेको उनको भनाइ छ । तरलता पर्याप्त भएका बेला सम्भावित ऋणीसम्म पुगेर आफ्ना सेवा र कर्जा उत्पादनको जानकारी दिने अभ्यास भने निरन्तर जारी रहने उनले बताए ।
करदाता उपहार कार्यक्रम कार्यान्वयन गर्न वालेटलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले सञ्चालनमा ल्याउन लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पीएसपी) वा वालेटलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको निर्देशनअनुसार विद्युतीय प्रणालीमा अन्तरआबद्धता स्थापित गरी कार्यक्रमलाई सफल बनाउन अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई आवश्यक व्यवस्था मिलाउन भनिएको हो । निर्देशनअनुसार भुक्तानी सेवा प्रदायकहरूले आफ्ना मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सम्बन्धी बारम्बार सोधिने प्रश्न (एफएक्यू) का लागि छुट्टै खण्ड समावेश गर्नुपर्नेछ । यस्तै, आगामी साउन २१ गतेदेखि कार्यक्रम सञ्चालनमा आउने भएकाले साउन १६ गतेदेखि नै मोबाइल एपमार्फत ग्राहकलाई सूचना (नोटिफिकेसन) पठाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यदि कार्यक्रममा सहभागी हुन ग्राहकले मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने अवस्था भएमा त्यससम्बन्धी जानकारी पनि नोटिफिकेसनमार्फत नै उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । सरकारले आन्तरिक राजस्व विभागमार्फत सञ्चालन गर्न लागेको उक्त कार्यक्रममार्फत विद्युतीय भुक्तानी तथा कर प्रणालीलाई थप प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा ग्राहकलाई समयमै सूचना उपलब्ध गराउन राष्ट्र बैंकले सबै अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
अब एनएमबी बैंकले सेकेन्ड ह्यान्ड ईभी किन्न कर्जा दिने
काठमाडौं । एनएमबी बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पुराना (सेकेन्ड ह्यान्ड) विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । हरित बैंकिङप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले नेपालभर प्रयोगमा रहेका चारपांग्रे विद्युतीय सवारीसाधन खरिदका लागि नयाँ वित्तीय योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार ‘प्रि–ओन्ड ईभी फाइनान्सिङ’ योजनामार्फत व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका ग्राहकले सहज रूपमा कर्जा लिन सक्नेछन् । छिटो प्रक्रिया र ग्राहकमैत्री सेवालाई प्राथमिकता दिइएको यो योजनाअन्तर्गत देशभर रहेका एनएमबी बैंकका शाखा वा बैंकका डिजिटल माध्यममार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एनएमबी बैंकले हरित वित्तीय सेवामा आफ्नो अग्रणी भूमिका थप मजबुत बनाउने उद्देश्यसहित यो योजना ल्याएको जनाएको छ । बैंकले वातावरणमैत्री यातायातलाई प्रोत्साहन दिँदै बढीभन्दा बढी ग्राहकलाई विद्युतीय सवारीसाधन प्रयोगतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ । हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।