राष्ट्र बैंकमा एकैपटक ११ जना ईडीको सरुवा, कसलाई कहाँ पठाइयो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकारी निर्देशक (ईडी)हरूको सरुवा गरेका छन् । गभर्नर डा.पौडेलले एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय विभाग प्रमुख रहेका रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुखमा सरुवा गरेको छ । सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुख रहेका रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा सरुवा गरिएको छ । यसअघि बैंकिङ विभाग प्रमुख रहेका डा. डिल्लीराम पोख्रेललाई भने मौद्रिक व्यवस्थापन विभागको प्रमुखमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै, मौद्रिक व्यवस्थापन विभाग प्रमुख रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ । गभर्नर कार्यालयमा रहेका राजन विक्रम थापालाई भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ । यसअघि संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको प्रमुख अनुज दाहाल थिए । दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाएको राष्ट्र बैंकले जनाएको छ । यसअघि मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका रामु पौडेललाई भने शक्तिशाली विभागका रुपमा चिनिएको बैंक तथा वित्तीय संस्था नियमनमा सरुवा गरिएको छ । यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेल थिए । उनलाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । यस्तै, मानव संसाधन व्यवस्थापन विभाग प्रमुख रहेका विश्रुत थापालाई भने वित्तीय संस्था सुपरीवेक्षण विभागको प्रमुख बनाइएको राष्ट्र बैंकले जनाएको छ । कार्यकारी निर्देशक किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा गरिएको छ । यसअघि उनी भुक्तानी प्रणाली विभाग प्रमुख थिए । गभर्नर पौडेलले डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिएका छन् । यसअघि उनी वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख थिए ।
बैंक तथा वित्तीय संस्थामा कति पैसा छ ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरु मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंक तथा फाइनान्सले यो अवधिमा ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरुले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४.२५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहेपनि कर्जा प्रवाह सुस्त छ । पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाको लागि बैंकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्युनमात्रै प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन । खासगरी जेनजी आन्दोलनमा निजी क्षेत्रका घरनामाथि छानिछानि आक्रमण भएपछि लगानीकर्ताहरु त्रसित बन्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंगठनले शान्ति सुरक्षाको प्रत्याभुति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानी योग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आइतवार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन् ।
निफ्रा बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो आधार दर
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज कात्तिक १८ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार शुभ पूर्वाधार खातामा ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्ताका लागि ४ प्रतिशत र व्यक्तिगतका लागि ४.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले शुभ पूर्वाधार बचत खातामा ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्ताका लागि ४.५० प्रतिशत र व्यक्तिगतका लागि ५.५० प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, १० वर्षभन्दा बढी अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले १० वर्षभन्दा बढी अवधिका लागि संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै कर्जातर्फ भने बैंकले आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको आधार दर ६.८८ प्रतिशत रहेको छ । बैंकका अनुसार प्रोजेक्ट लोनमा आधार दरमा ३ प्रतिशत प्रिमियम, ब्रिज ग्याप लोनमा आधार दरमा ०.५ प्रतिशत बढी ब्याज तोक्नेछ । यसअघि बैंकको आधार दर ६.९७ प्रतिशत रहेको थियो ।