सीईओसँग अर्थमन्त्री : बैंकरसँग सहकार्य गरेर अगाडि बढ्ने प्रण
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भएको छलफलमा उनले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिसकिएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता त्यसको प्रभावकारी कार्यान्वयन रहेको बताए । अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञान बैंकिङ क्षेत्रले नजिकबाट अनुभव गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानमा बैंकरहरूको सुझाव महत्वपूर्ण हुने बताए । छलफलका क्रममा उनले वर्तमान आर्थिक अवस्थाका केही विरोधाभासपूर्ण पक्षप्रति पनि चासो व्यक्त गरे । यस्ता संरचनागत समस्या समाधानका लागि मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा नयाँ दृष्टिकोण आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा र बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहँदा पनि कर्जाको माग नबढ्नु तथा व्यवसायी लगानी विस्तारमा हिचकिचाउनु चिन्ताको विषय हो । सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियन्त्रित निकायको मात्र होइन, साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रा साझा उद्देश्य हुन् । जहाँ कानुनी र प्रक्रियागत सुधार आवश्यक हुन्छ, त्यहाँ सरकार निर्णय लिन पछि हट्दैन ।’ अर्थमन्त्रीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । छलफल केवल समस्या पहिचानमा सीमित नहुने स्पष्ट पार्दै उनले प्राप्त सुझावलाई कार्यान्वयनको ठोस मार्गचित्रमा रूपान्तरण गरिने बताए । उनले सरकारले अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढंगले मात्र नभई आत्मविश्वासपूर्ण र भविष्यप्रति आशावादी बनाउने लक्ष्य लिएको उल्लेख गर्दै नेपाललाई उच्च आर्थिक वृद्धि र उत्पादकत्वको नयाँ चरणमा पुर्याउन बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढ्न आह्वान गरे ।
नबिल र शाइन रेसुङ्गालाई आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड
काठमाडौं । नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक अवार्ड’ जितेको हो । विकास बैंकतर्फ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ‘बेस्ट डेभलपमेन्ट बैंक’ घोषित भएको छ । शाइन रेसुङ्गाले ‘बेस्ट डेभलपमेन्ट बैंक’सँगै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीन विधामा अवार्ड जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ । आईसीसीले बिम्स्टेक सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाबाट आवेदन माग गरेको थियो । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन, ग्राहक सेवा र समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको जनाइएको छ । अवार्ड छनोटका लागि प्राइस वाटरहाउस कूपर्स (पीडब्लुसी) का विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो। आयोजकका अनुसार यसले पुरस्कार छनोट प्रक्रियाको विश्वसनीयता र पारदर्शिता थप सुदृढ बनाएको छ । यो सम्मानलाई नेपालको बैंकिङ क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विशेषगरी शाइन रेसुङ्गाले एकैपटक तीन विधामा अवार्ड जित्नु नेपाली विकास बैंकहरूको सुशासन, वित्तीय अनुशासन र दिगो वृद्धिको संकेत भएको विश्लेषण गरिएको छ । इण्डियन चेम्बर अफ कमर्सले हरेक वर्ष दक्षिण एसियाली मुलुकका उत्कृष्ट बैंक तथा वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ । नेपालका बैंकहरूले प्राप्त गरेको यसपटकको अन्तर्राष्ट्रिय सम्मानले नेपालको बैंकिङ प्रणालीप्रतिको विश्वास र विश्वसनीयता थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।
विदेश अध्ययन गर्ने विद्यार्थीका लागि नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालनमा
काठमाडौं । नबिल बैंक लिमिटेडले विदेश अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा हबको उद्घाटन गरे । बैंकका अनुसार एजुकेशन हबबाट विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्शदाता संस्थालाई बैंकिङ, शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना र आवश्यक परामर्श एकै स्थानबाट उपलब्ध गराइनेछ । अध्यक्ष निर्वाणकुमार चौधरीले शिक्षा क्षेत्रमा गरिने लगानी राष्ट्रको भविष्यसँग जोडिएको उल्लेख गर्दै विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच र मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बताए । उनले आगामी दिनमा देशभरका शाखामा पनि एजुकेशन हबको अवधारणा विस्तार गरिने जानकारी दिए । अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले हबको सुरुवातले नेपाल र अष्ट्रेलियाबीच शिक्षामार्फत जनशक्तिमा लगानी गर्ने सहकार्यलाई थप मजबुत बनाउने बताए । उनले विद्यार्थी र अभिभावकका लागि ‘एकद्वार सेवा केन्द्र’को अवधारणालाई समयानुकूल र व्यवहारिक भन्दै प्रशंसा गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा पहिलो पटक सञ्चालनमा आएको दाबी गरे । उनले विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सेवा, शिक्षा कर्जा, विदेशी मुद्रा सुविधा र वित्तीय परामर्शलाई एकीकृत रूपमा उपलब्ध गराइने बताए । बैंकका अनुसार एजुकेशन हबमा शैक्षिक बैंकिङसम्बन्धी विशेषज्ञ टोली रहनेछ । विद्यार्थीले अध्ययन अवधिभर कर्जा किस्ता तिर्न नपर्ने ‘मोरेटोरियम’ सुविधासहित विशेष सेवा पनि प्राप्त गर्नेछन् । नबिल बैंकले एजुकेशन हब शाखाको विकल्प नभई शिक्षा क्षेत्रका ग्राहकलाई छिटो, सहज र विशेषज्ञ बैंकिङ सेवा प्रदान गर्ने विशेष केन्द्रका रूपमा सञ्चालन गरिएको जनाएको छ ।