६ बैंकले घटाए खराब कर्जा, ८ बैंकको ५ प्रतिशत नाघ्यो

काठमाडौं । ‘विगतमा हाम्रो बैंकको पनि १ प्रतिशत भन्दा कम खराब कर्जा थियो । तर, आजको दिनमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ प्रतिशतभन्दा बढी पुगिसक्यो । अब १ प्रतिशतभन्दा कम खराब कर्जा रहेको एभरेष्ट बैंक मात्रै हो,’ एक बैंकका उच्च व्यवस्थापकले भने, ‘यो आर्थिक वर्षदेखि समाधान हुन खोजिरहेको थियो । तर, जेनजी आन्दोलनको प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष असर जति परेको छ, त्यहि नै प्रोभिजन राख्नु भनेर राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले रिस्ट्रक्चरिङ गर्न नपाउने भनिएको छ ।’  उनका अनुसार आन्दोलन पछि ऋण असुलीमा ठूलो सकस भोगिरहनु परेको छ । अहिलेको जस्तो स्थिति आफ्नो बैंकिङ अनुभवमा कहिले पनि नदेखेको उनी बताउँछन् । बैंकिङ क्षेत्रमा देखिएको सकस साम्य हुन १/२ वर्ष लाग्न सक्ने उनले बताए ।  ती बैंकरले भने जस्तै बैंकहरुको खराब कर्जा उच्च विन्दुमा पुगेकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ४.६ प्रतिशत पुगेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १७.६६ प्रतिशत बढेर ४.७ प्रतिशत विन्दुमा पुगेको हाे । गत वर्षको असोजसम्म बैंकहरुको खराब कर्जा ३.९१ प्रतिशत थियो ।  समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । हिमालयन बैंकको खराब कर्जा ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दुमा पुगेको छ । जबकि गत वर्षको असोजमा ४.९८ प्रतिशत विन्दु थियो । असोज मसान्तसम्ममा नेपाल एसबीआई बैंकको खराब कर्जा ६३.५८ प्रतिशत ३.०१ प्रतिशत विन्दु रहेकाे छ ।प्रतिशतका आधारमा यस बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ । यस्तै, नेपाल बैंकको ५७.३० प्रतिशत बढेर ५.४९ प्रतिशत विन्दु, हिमालयन बैंकको ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दु, कुमारी बैंकको ४०.७२ प्रतिशत बढेर ६.९८ प्रतिशत विन्दुमा खराब कर्जा रहेको छ ।  सार्वजनिक तथ्याङ्क अनुसार सानिमा बैंकको ३२.९९ प्रतिशत बढेर ३.९१ प्रतिशत विन्दु, माछापुच्छे बैंकको ३१.११ प्रतिशत ४.१३ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २६.४३ प्रतिशत ६.८४ प्रतिशत विन्दु, एनएमबि बैंकको २६.१७ प्रतिशत ४.५८ प्रतिशत विन्दुमा खराब कर्जा रहेका छन् ।  प्राइम बैंकको २०.५७ प्रतिशत बढेर ५.८६ प्रतिशत विन्दु, प्रभु बैंकको १७ प्रतिशत बढेर ५.७८ प्रतिशत विन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १३.९१ प्रतिशत बढेर ६.६३ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको ६.६३ प्रतिशत बढेर ४.९८ प्रतिशत विन्दु, नबिल बैंकको १.१७ प्रतिशत बढेर ४.३१ प्रतिशत विन्दुमा खराब कर्जा रहेको तथ्याङ्क छ ।  तर, कृषि विकास बैंकको खराब कर्जा भने स्थिर रहेको छ । असोजसम्म बैंकको खराब कर्जा ४.७८ प्रतिशत विन्दुमा रहेको छ ।  समीक्षा अवधिमा ६ बैंकले भने खराब कर्जा घटाएका छन् । एनआइसी एशिया बैंकको १६.३४ प्रतिशत घटेर १.७४ प्रतिशत विन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.३० प्रतिशत घटेर १.७१ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत घटेर ३.८३ प्रतिशत विन्दु, एभरेष्ट बैंकको ३.८९ प्रतिशत घटेर ०.७४ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको २.८१ प्रतिशत घटेर ३.८ प्रतिशत विन्दु र लक्ष्मी सनराइज बैंकको ०.३६ प्रतिशत घटेर ५.४२ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।

२ अर्ब ७१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरूमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो ।  राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।  केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ ।  वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, विकास बैंकमा ४० करोड ७७ लाख रुपैँया र वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैँया मुद्दती निक्षेपमा लगानी गरिने छ ।  २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।  निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।  त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ ।  त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।  उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक २३ गते भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रश्ताव पठाउन भनिएको छ । 

आन्दोलनको असर बैंकको नाफामा, १८.८२ प्रतिशत गिरावट आउँदा ५ बैंकको मात्रै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ गिरावट आएको हो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जबकि गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको सञ्चालन लागत, कर्जाको गुणस्तर र तरलता व्यवस्थापनका कारण बैंकहरुको नाफामा ठूलो असर परेको बैंकरहरु बताउँछन् ।  देशको पछिल्लो अवस्थाबाट सिर्जना भएको असामान्य परिस्थितीबाट समग्र अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलताका कारण पनि बैंकमा असर परेको बैंकरहरुको भनाइ छ । साथै, केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताका कारण देशको व्यवसायिक वातावरण सकारात्मक बन्न नसकेको कारण व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् ।  साथै, बाढी पहिरो, जेनजी आन्दोलन लगायत कारण पनि बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको छ ।  समीक्षा अवधिमा विभिन्न ५ बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफामा गिरावट आएको छ । चालु आवको असोजसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै बढेको छ । बैंकको नाफा २८९.७७ प्रतिशत बढेर ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, ग्लोबल आइएमई बैंकको २२.९१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ, सानिमा बैंकको १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १०.५२ प्रतिशत बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको ४.५६ प्रतिशत बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । यी बैंकको नाफा घट्यो  चालु आवको ३ महिनामा विभिन्न १५ वाणिज्य बैंकको नाफा घटेको छ । जसमध्ये सिटिजन्स बैंकले २२ करोड ४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । जबकि सो बैंकले गत वर्षको असोजमा १९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, कृषि विकास बैंकको ९६.९९ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब)को ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकको ४६.३३ प्रतिशत घटेर ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, नेपाल एसबीआई बैंकको ३८.४३ प्रतिशत घटेर ५० करोड १५ लाख ६५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ, एनएमबि बैंकको २० प्रतिशत घटेर ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.६२ प्रतिशत घटेर ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  सार्वजनिक तथ्याङ्क अनुसार माछापुच्छे बैंकको १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १५.१७ प्रतिशत घटेर ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको १४.५६ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, हिमालयन बैंकको ३.२४ प्रतिशत घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ, नेपाल बैंकको २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ, प्राइम बैंकको २.२० प्रतिशत घटेर १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ, कुमारी बैंकको २ प्रतिशत बढेर १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा गरेको तथ्याङ्कले देखाएको छ ।