सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले अब काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल प्रालिमा विभिन्न सेवाहरू लिँदा छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा सेवा उपयोग गर्दा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यस सहकार्यले आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै नगद रहित कारोबार (डिजिटल ट्रान्जेक्सन) मा जोड दिँदै डिजिटल बैंकिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ । यस सम्झौता तथा सेवा सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब लगानीमा तल्लो हेवा खोला आयोजना बन्ने

काठमाडौं । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको ६.८४ मेगावाट क्षमताको सो आयोजनामा २ वाणिज्य बैंकले करिब १ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । सो आयोजनामा सिद्धार्थ बैंकले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख रुपैयाँ गरी ९८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत १ अर्ब ४० करोड २५ लाख रुपैयाँ बराबर रहेको छ । कम्पनीका अध्यक्ष वसन्त कुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४०.८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको ३.८ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ । पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ । 

एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा छुट हुने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले पर्वत जिल्लाको कुश्मामा अवस्थित द क्लिफ नेपाल मा विभिन्न सेवाहरू उपयोग गर्दा विशेष छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा द क्लिफ नेपाल र एनआईसी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले द क्लिफ नेपालमा उपलब्ध आवास सेवा, मेगाट्रोल, स्काइसाइकल र स्काइ क्याफे सेवाहरूमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा उपयोग गर्नका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न पनि सहयोग पुग्नेछ ।