सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य, को हुन् उनी ?
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव रुद्रप्रसाद बन्जराका अनुसार बैंकका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ । नवनियुक्त सीईओ आचार्यले आगामी माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने उनले बताए । बैंक सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको उनले बताए । उनले बैंकको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ क्षेत्रमा २१ वर्ष लामो अनुभव संगालेका छन् । हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ । आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआइटी, जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
राष्ट्र बैंकले उपदान कोषको ३.७० अर्ब रुपैयाँ बैंकमा लगानी गर्ने, खुद एनपीएल ३ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ, राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात (एनपीएल ) ३ प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा-नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्ने लगायत सर्त पूरा गरेको हुनुपर्नेछ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ ।
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, ग्राहकलाई छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र ई–कमर्स प्लेटफर्म दराजबीच अनलाइन खरिदका लागि भुक्तानी सेवा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट डिजिटल पेमेन्ट तथा फाइनान्स सेवा प्रोजेक्ट लिड रिशव थापाले हस्ताक्षर गरेका छन् । सम्झौता २०८२ साल कार्तिक २५ गते देखि मंसिर ६ गतेसम्म लागू हुनेछ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले दराजमा अनलाइन खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ रुपैयाँसम्म र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । नेपाल बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सुविधा सक्रिय गर्न तथा क्रेडिट कार्डका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नविनतम प्रविधि र डिजिटल संलग्नता विस्तार गर्ने रणनीतिअन्तर्गत दराजसहितका ई–कमर्स प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।